समाज
बाँदर व्यवस्थापनबारे राज्य मौन, किसान क्षति बेहोरेको बेहोर्यै
सांसद ध्रुवराज राईले संसद्मा किसानले बाँदर मार्न पाउनुपर्छ भनिरहँदा सांसद आशिका तामाङले नियमापत्ति जनाइन्। उनको धारणा थियो– बाँदर मार्नु हुँदैन। त्यसपछि जनावर अधिकारकर्मीहरू बाँदर बचाउने अभियानमा सडकमा निस्किए। यसरी बाँदरले समाजलाई नै विभाजित गरिदिएको छ। ध्रुवीकरण झन् घनीभूत हुँदै छ।
गाउँका किसानहरू भन्छन्– बाँदर मार्न पाउनुपर्छ। सहरका जनावर अधिकारकर्मीहरूको स्वर भने बाँदर मार्नुपर्छ भन्नेलाई नै मार्नुपर्छ भन्ने तहसम्म आक्रोशित सुनिन्छ। बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि भत्काइदिन्छ। सहरका बाँदर अधिकारकर्मीहरू न बाँदर मार्ने कानुन बनाउन दिन्छन्, न बाँदरबाट किसानलाई बचाउन कुनै पहल गर्छन्। सरकार आफ्नो पार्टीको महाधिवेशन सकेर भर्खरै राजधानी फर्किएको छ। केही गर्ला कि भन्ने आशा छ, तर अहिलेसम्म चुपचाप छ।

संसद्मा आशिका तामाङ।
एक्लेदेखि पल्टनसम्म
हाम्रो पुस्ता केटाकेटी हुँदा हाम्रो गाउँमा ‘बाँदर’ शब्द चलनमै थिएन। ‘एक्ले’ भनिन्थ्यो। एक्लेले खोलाखोल्सा छेउछाउका मकै खान्थ्यो। बाँदरबारे जानकारहरूका अनुसार बाँदरको समूहको नेतृत्व सबैभन्दा बलियो भालेले गर्छ, जसलाई ‘अल्फा मेल’ भनिन्छ। उसका प्रतिस्पर्धीहरू पनि तयार हुँदै गरेका हुन्छन्। नाइके नेतृत्वमा टिकिरहन र प्रतिस्पर्धीहरू नाइके बन्न निरन्तर संघर्षरत हुन्छन्। लडाइँमा नाइके हार्यो भने जितुवा नयाँ नाइके बन्छ। सदस्यहरू शक्तिका पुजारी हुन्छन्, नयाँ नाइकेतिर लाग्छन्। पराजित नाइके समूहबाट लखेटिन्छ र एक्लै जीविकोपार्जनमा लाग्न बाध्य हुन्छ। त्यसले सुटुक्क बाली खान्छ। खान्छ मात्रै, अरू क्षति गर्दैन।
मैले १३ वर्षको उमेरमा घरबाट हिँडेर पूरा एक दिनमा पुगिने दिङ्लामा पहिलो पटक बाँदरको हुल देखेको हुँ। बालागुरु षडानन्द अधिकारीले १९३२ सालमा भोजपुरको दिङ्लामा पाठशाला खोलेका थिए। त्यो नै जनस्तरबाट खोलिएको नेपालको पहिलो औपचारिक विद्यालय हो। उनले पाठशालासँगै छात्रावास, शिवालय, राममन्दिर, पोखरी, धारा र पाटीहरू पनि बनाएका थिए। अग्रजहरूका अनुसार बालागुरुले शिवालय बनाउँदा रुद्राक्षको बिरुवा तथा राममन्दिर बनाउँदा रामको बाँदर सेना बनारसबाट ल्याएका थिए। दिङ्ला बजारमा पाइने बाँदर तिनै बनारसी बाँदरका सन्तान हुन् भनिन्थ्यो। दिङ्लामुनि अरुण गढतिरका सालघारीमा पाइने बाँदरलाई अर्कै खालको मानिन्थ्यो। हाम्रो क्षेत्र, अर्थात् टेम्केमैयुङको माथिल्लो भेगमा बाँदरको हुल देखिँदैनथ्यो। एक्ले आक्कलझुक्कल मात्रै देखिन्थ्यो। गाउँलेहरू भन्छन्– पहिला जंगलबाट एक्ले आउँथ्यो र बारीमा पस्थ्यो; अचेल सडकबाट बाँदरको पल्टन आउँछ र गाउँ पस्छ।
बाँदरले घरभित्रै पसेर खानेकुरा खोजेर खाने मात्रै होइन, घरसमेत भत्काइदिन्छ। घरमा परालको छाना लगाउनै हुँदैन। परालमा छुटेको धानको गेडा खोज्न मेलैसँग छाना उखेल्छ। थाँक्राबाट मकैका झुत्ता लैजान्छ। भातसहित भाँडाकुँडा लगिदिने, लुगाफाटा फ्याँकिदिने र च्यातिदिने सामान्य भइसक्यो।
तल्लो भेगमा पहिला पनि बाँदर हुन्थे, तर ती अहिलेका भन्दा सोझा र कम चकचके थिए। पहिलाका बाँदर मकै, गेडागुडी र कुनै-कुनै फलफूल मात्रै खान्थे। कोदो, धान, गहुँ, आलु, सुन्तला, अलैँची खाँदैनथे। अहिलेका बाँदरले नखाने केही छैन। बाँदरले कोदोको कपना दुई हातले खैनी माडेझैँ माड्छ, ‘फु’ गरी फुकेर भुस उडाउँछ र दाना दाना मुखमा हाल्छ। धानको बाला हातले सुर्केर गेडा गेडा खान्छ। ब्याडमा छरेको धान पनि हत्केलामा उठाएर पखालेर खान्छ। बारीमा भएको उखु भाँचेर, टुप्पो फ्याँकेर मान्छेले जस्तै काँधलौरी पार्दै लगेको आफैँले देखेको मेस्पाङका पूर्वशिक्षक तथा किसान छत्रदेव राईले केही वर्षअघि सुनाएका थिए।
पहिलेका बाँदर सुन्तलाका फल टिप्दा बोक्राको रस आँखामा परेपछि फ्याँकेर भाग्थे। अचेल अनुहार लुकाएर बोक्रा उक्काउँछन् र खान्छन्। अलैँचीको बोट चिरेर सोत्तर पार्छन्, गुदी खानलाई। आलु र सुठुनी नङ्ग्राले मात्रै होइन, चोकेले खनेर खान्छन्। बाँदर विशेषज्ञहरूका अनुसार बाँदरको सिक्ने क्षमता मान्छेको भन्दा पचास प्रतिशत कम हुन्छ। तर, यो क्षमता अन्य जनावरहरूको तुलनामा अत्यन्त धेरै हो। त्यसैले बाँदरले नयाँ परिस्थितिमा घुलमिल हुन छिटै सिक्छ र कहिल्यै नदेखेका कुरासमेत खान हुने वा नहुने छिटै छुट्याउन सक्छ।

बाँदरले हत्तुहैरान पारेपछि छिनाम्खुका एक किसानले बाँदरलाई नै पाठ सिकाउन खोर्सानी रोपेछन्। खोर्सानी रात्तै पाकेपछि बाँदरलाई पस्न दिएछन्। सुरुमा नाइके मात्रै आयो। बोट र फल घुमीघुमी निरीक्षण गर्यो र एउटा रातो फल टिपेर चाख्यो। पिरो भएपछि उसले चिच्याउँदै इसारा गर्यो। पछि पूरै पल्टन खोर्सानीबारीमा पस्यो। क्याउँक्याउँ र कुँकुँ गर्दै मेलैमारी खोर्सानीका बोट उखेलेर फाल्यो। पाँच रोपनीमा रोपेको खोर्सानी एकैछिनमा एक बोट पनि नछाडी सखाप पारिदियो।
बाँदरले घरभित्रै पसेर खानेकुरा खोजेर खाने मात्रै होइन, घरसमेत भत्काइदिन्छ। घरमा परालको छाना लगाउनै हुँदैन। परालमा छुटेको धानको गेडा खोज्न मेलैसँग छाना उखेल्छ। थाँक्राबाट मकैका झुत्ता लैजान्छ। भातसहित भाँडाकुँडा लगिदिने, लुगाफाटा फ्याँकिदिने र च्यातिदिने सामान्य भइसक्यो। बाँदरले खानेभन्दा धेरै नष्ट गर्ने भएकैले किसान बढी चिन्तित छन्। महिला र बालबालिकालाई सिधै आइलाग्ने समस्या पनि छ।
उपाय के?
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा बाँदर धपाउने बन्दुकको सफल परीक्षण भएर बिक्री सुरु भएको उनी आफैँले, आमसञ्चारले र सामाजिक सञ्जालले खुबै प्रचार गरे। प्रचारलाई विश्वास गरेर धेरै पालिकाले लाखौँका बन्दुक किनेर किसानलाई वितरण पनि गरे। पाइपमा क्याल्सियम कार्बाइड रसायन हालेर ग्यास चुलो बाल्ने लाइटरले पड्काइने ती बन्दुकको आवाज सुनेर सुरुमा बाँदर तर्सिएर भागे। तर, बाँदरले छिटै कुरा बुझे– ती बन्दुक पड्किने मात्रै रहेछन्, गोली फाल्दैनन्। त्यसपछि किसान बन्दुक पड्काएको पड्कायै, बाँदर ज्यान कन्याएको कन्यै। अझ पछि त बाँदर बन्दुकै खोस्न आउन थाले। उबेला किसान बाँदरबाट मुक्त भएको प्रचार गर्ने पुन अहिले विज्ञानमन्त्री भएपछि भन्न थालेका छन्, “अर्को ग्रह पुग्न सजिलो, बाँदर नियन्त्रण गर्न कठिन।”
अर्कातिर, जनावर अधिकारकर्मीहरूले किसानलाई बाँदरबाट मुक्ति पाउन सुझाएका उपाय सुन्दा हाँसो लाग्छ। जस्तै– बिजुली प्रवाह हुने तारको घेराबार बनाउने, बाँदरका लागि जंगलमा फलफूल रोपिदिने, उनीहरूलाई मन पर्ने खानेकुरा जंगलमै लगेर राखिदिने, गस्ती गर्ने, बन्ध्याकरण गर्ने, ठूलो जालीघर बनाएर पाल्ने, समातेर मानव बस्तीदेखि धेरै टाढा पुर्याइदिने, कुकुर-बिरालो पालेझैँ सोखका रूपमा पाल्ने, मान्छेले तिनीहरूलाई दुःख नदिने आदि।
अरूलाई असन्तुलित बनाइरहेको बाँदरको बढ्दो रफ्तार बेलैमा रोकिएन भने मानिसले मुक्ति पाउने सम्भावना छैन। मानिसले मुक्ति पाउने उपाय बाँदरको व्यवस्थापन हो।
नेपालमा बाँदर कति छन् भन्ने यकिन छैन। राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको संयुक्त परियोजनामार्फत बाँदर गणना सुरु भए पनि त्यसले ठ्याक्कै संख्या बताउन नसक्ने, अनुमानित औसत संख्या मात्रै निकाल्ने बताइन्छ। सिन्धुपाल्चोकको मेलम्चीमा मात्रै पाँच हजार बाँदर रहेको अनुमान पालिकाले गरेको छ। बाँदरको जनसंख्या वृद्धिदर वार्षिक २५ प्रतिशतसम्म हुने गरेको विशेषज्ञहरूको भनाइ छ। संख्या जति भए पनि यसको वृद्धि डरलाग्दो दरमा भइरहेको गाउँसँग परिचित जोकोहीले अनुभव गरेको छ।
सबैभन्दा पहिला बाँदरको संख्या, मानिस, जंगल, खेतीपातीको अवस्था सबै हिसाब गरेर नेपालको भूगोल र जनसंख्याको अनुपातमा कति बाँदर हुनुपर्ने हो भन्ने किटान गर्नुपर्छ। त्योभन्दा बढी संख्या घटाउनुपर्छ। अस्ट्रेलियामा सरकारले हरेक वर्ष मार्नुपर्ने कंगारुको संख्या निर्धारण गर्छ। वन्यजन्तुका लागि संरक्षित क्षेत्रमै पनि प्राकृतिक सन्तुलन खलबलिने गरी कुनै एक प्रजातिको संख्या बढ्यो भने तिनलाई स्थानान्तरण गर्ने वा मार्ने अभ्यास विश्वभर पाइन्छ।
किसानलाई दुःख दिने बाँदर मात्रै होइन। अरू पनि दर्जनौँ प्रजातिका जनावर, दर्जनौँ प्रजातिका चराचुरुंगी र सयौँ प्रजातिका किरा छन्। निकुञ्जलगायत संरक्षण क्षेत्रका जनावर तथा चराचुरुंगीले गरेको किसानको क्षतिलाई राज्यले सम्बोधन गर्ने गर्छ। संरक्षण क्षेत्रसँग नजोडिएका क्षेत्रको समस्या अहिले बहसको विषय बनेको हो। त्यसमध्ये पनि मुख्य विषय बाँदर बनेको छ।

बालीमा बाँदरले गरेको क्षति। फाइल तस्बिर
यसको बिगबिगी बढ्नुको मुख्य कारण यसलाई मारेर नखानु हो। मृग, बँदेल, दुम्सी, कालिज, ढुकुर र सुगाले गर्ने क्षति पनि किसानका लागि कम हुँदैन। तर, तिनलाई मारेर खान्छन्। हुन त कुनै पनि जंगली जनावर मार्नु गैरकानुनी र दण्डनीय काम हो। तर, देशका जुनसुकै ठाउँमा पनि गोप्य रूपमा सिकार चलिरहेकै हुन्छ। ती जनावरहरू संरक्षण क्षेत्रभित्र बाहेक अन्यत्र फैलिने अवसर पाउँदैनन्। गाउँले सिकारीले कतै पासोमा पारेर, कतै बन्दुकले, कतै जालमा पारेर, कतै कुकुर लगाएर मारेर खान्छन्।
बाँदर नेपालका कुनै पनि जाति वा समुदायको खानाको सूचीमा पर्दैन। बरु मिथक, धर्म र कथासँग जोडेर बाँदरलाई कसैले भगवान् बनाएका छन्, कसैले आफ्नै वंशज। नेपालमा बाँदर खाने मानव समुदाय राउटे हो, जसमध्ये जंगलमा फिरन्ते जीवन बिताउनेहरूको संख्या दुई सयभन्दा कम छ। सरकार, गैरसरकारी संस्था र मनकारी व्यक्तिहरूले घरमै बोराका बोरा खानेकुरा पुर्याइदिन थालेपछि उनीहरूलाई पनि बाँदर मारेर खान जरुरी रहेन। अहिले त राउटेकै राउटीमा बाँदर पस्न थालेको छ।
बाँदरले जंगललाई पनि अशान्त बनाउँछ। यसले भेट्ने र सक्ने सबै जनावर खान्छ। भुइँदेखि आकाशसम्मका चिज खान्छ। नखाएकालाई बटारेर, पछारेर, भाँचेर, हल्लाएर, उखेलेर, भत्काएर र तोडेर सबैखाले बिरुवा नष्ट गर्छ। नेपालका बाँदर पानीको जलकुम्भी र जमिनको वनमारा जस्तै भएका छन्। अरूलाई असन्तुलित बनाइरहेको बाँदरको यो बढ्दो रफ्तार बेलैमा रोकिएन भने मानिसले मुक्ति पाउने सम्भावना छैन। मानिसले मुक्ति पाउने उपाय बाँदरको व्यवस्थापन हो। व्यवस्थापन भनेको निश्चित सीमा तोकेर काँटछाँट गर्नु हो।
तर, काँटछाँट गर्ने नाममा बाँदर मार्न पनि सजिलो छैन। यो संविधान जारी हुनुभन्दा अघिल्लो वर्ष तत्कालीन छिनाम्खु गाविसले बाँदर नियन्त्रण गर्न गाउँ परिषद्बाट बजेट छुट्याएको थियो। गाउँ सबै मिलेर बाँदर मार्न लेखेटे। चारैतिरबाट लखेटिँदा बाँदर भाग्नै नसक्ने चपेटामा परे। मान्छेले लट्ठी उज्याउँदा तिनले आँखाबाट पिलपिल आँसु झार्दै, मान्छेले जस्तै दुई हात जोडेर नमस्कार गर्दै जीवनको अन्तिम भिख मागे जस्तो गरे। त्यो देखेर आफूहरू भावुक भई प्रहार गर्नै नसकेको अनुभव सुनाउनेहरू अहिले पनि भेटिन्छन्।
तर, बाँदरको संख्या घटाउनैपर्छ– जसरी पनि।