काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्। आयोगको सदस्यमा प्राध्यापक रेजिना मास्केलाई नियुक्त गरिएको छ। दुवै नियुक्ति त्रिवि सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको जनाइएको छ।
शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
सिफारिस समितिले गत जेठमा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको थियो। निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्यांकन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो।
आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित थापाले निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका छन्। उनी सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालयलगायत निकायमा सचिवका रूपमा कार्यरत थिए।