उच्चको फैसला
जनकपुर। उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्टाउँदै केही अभियुक्तलाई कैद सजाय सुनाएको छ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा प्रदेश सभा सदस्य अभिराम शर्मा र पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको हो। महतो नेकपा एमालेबाट निर्वाचित पूर्वसांसद हुन्। उनी महोत्तरी १ बाट निर्वाचित भएका थिए।
जिल्ला अदालत महोत्तरीले सफाइ दिएका लक्ष्मी महतो र पवन कापरलाई उच्च अदालतले जनही पाँच वर्ष कैद सजाय गरेको छ।
त्यसैगरी अभिराम शर्मा, सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय र रामशंकर मिश्रलाई पनि पाँच वर्षकै कैद सजाय सुनाइएको छ। प्रदीप माझी, सञ्जय साह र मोहन ठाकुरको हकमा भने जिल्ला अदालतको फैसला नै सदर गरिएको छ।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार यस्तो फैसला सुनाएको हो।
