जनकपुर। मधेस प्रदेश सरकारले ल्याएको बजेटमा संशोधनको माग गर्दै प्रदेश सभामा विपक्षी दलहरूले दोस्रो दिन पनि विरोध जनाए। विपक्षीको अवरोध कायमै भएपछि सभामुख रामअशिष यादवले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन्।
बैठक सुरु हुनासाथ विपक्षी दलहरूले बजेट संशोधनको माग गर्दै उठेर विरोध जनाएका थिए। बैठकमा जनमत पार्टीका प्रदेश सांसद सञ्जयकुमार यादवले बजेट अव्यवहारिक भएको भन्दै संशोधनको माग गरे। उनले बजेट संशोधन नभएसम्म आफूहरूले बैठक सञ्चालन गर्न अडान दोहोर्याए। विपक्षी दलहरूले बैठक अवरुद्ध गरिरहेको समयमा अर्थमन्त्री युवराज भट्टराईले सभामुखसँग बोल्न समय मागेका थिए।
सभामुखले बोल्न समय दिए पनि विपक्षी दलका जसपा नेपालका उपेन्द्र महतोले बीचमै बोल्न थालेपछि अर्थमन्त्रीले जवाफ दिन भने सकेनन्। महतोले संघीयतालाई समाप्त गर्न नेकपा एमाले‚ नेपाली कांग्रेस र माओवादीले यस खालको गतिविधिमा लागेको आरोप लगाएका थिए। उनले सरकारले नियोजित रूपमा संघीयतालाई बदनाम हुने गरी काम गरिरहेको आरोप लगाउँदै सरकारले चाहेर पनि संघीयता समाप्त हुन नसक्ने बताए।
महतोले बोलेपछि अर्थमन्त्रीले बोल्न समय माग गरिरहँदा सभामुख यादवले अनिश्चितकालका लागि बैठक स्थगित गरे। एक्कासि प्रदेश सभाको बैठक स्थगित भएपछि विपक्षी दलहरूले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए।