विश्वकप
फिफाको नयाँ अभ्यासले खेलाडीलाई राहत त दिएको छ, तर फुटबल हेर्ने समर्थकलाई तनाव पनि थपिदिएको छ।
खेल सकिन २३ मिनेट मात्र बाँकी थियो। विपक्षी टोली सेनेगल २-० ले अगाडि। फिफा विश्वकपअन्तर्गत सिएटल स्टेडियमको स्कोरबोर्डमा देखिएको यही दृश्यले बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियालाई आफ्नो टोलीको यात्रा लगभग समाप्त भएको आभास गराइसकेको थियो। त्यसमाथि कप्तान युरी टिलेमान्स र विंगर लियन्ड्रो ट्रोसार्डबीच मैदानमै चर्किएको विवादले टोलीको अवस्था झन् असहज बन्यो। विवाद चर्केपछि दुवैलाई सहकर्मीहरूले छुट्याउनुपर्यो।
तर‚ ६७औँ मिनेटमा खेलको अनिवार्य ‘हाइड्रेसन ब्रेक’ (पानी पिउने विश्राम)ले बेल्जियमका लागि नयाँ आशा जगायो। त्यस अवसरलाई गार्सियाले टोली पुनः व्यवस्थित गर्ने माध्यम बनाए। रणनीति बनाउने मात्रै होइन, टिलेमान्स र ट्रोसार्डबीचको विवाद साम्य पार्ने अवसरसमेत पाए।
त्यही हाइड्रेसन ब्रेकपछि बेल्जियमको खेलले नाटकीय मोड लियो। खेल सकिन करिब चार मिनेट बाँकी हुँदा रोमेलु लुकाकुले सहज फिनिसिङ गर्दै टोलीका लागि पहिलो गोल फर्काए। विश्वकपमा उनको यो सातौँ गोल थियो। त्यसपछि निर्धारित समय सकिनै लाग्दा ट्रोसार्डको उत्कृष्ट क्रसमा केही समयअघि झगडा गरिरहेका टिलेमान्सले शक्तिशाली हेडमार्फत गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। त्यसअघि खेल भने अधिकांश समय सेनेगलले नै नियन्त्रणमा राखेको थियो।
अतिरिक्त समयमा बेल्जियमले पेनाल्टीको अवसर पायो। कप्तान टिलेमान्सले कुनै गल्ती नगरी त्यसलाई गोलमा परिणत गरे र बेल्जियमलाई रोमाञ्चक पुनरागमनसहित अविस्मरणीय जित दिलाए। “मेरो लागि यो कुलिङ (हाइड्रेसन) ब्रेकभन्दा पनि ‘कोचिङ ब्रेक’ साबित भयो। यो हाम्रो पुनरागमनका लागि निकै महत्त्वपूर्ण बन्यो,” खेलपछि गार्सियाले भने।
क्लब विश्वकपले ल्याएको नयाँ नियम
लामो समयदेखि फुटबललाई अधिकांश समूहगत खेलभन्दा विशेष मानिँदै आएको थियो। रेफ्रीले ‘ह्विसल’ फुकेपछि खेल निरन्तर चलिरहन्थ्यो। प्रशिक्षकले ‘टाइमआउट’ माग्ने नियम थिएन। टेलिभिजनमा विज्ञापन देखाउन खेल रोकिँदैनथ्यो। रणनीतिक छलफलका लागि पनि छुट्टै समय हुने कुरा त परकै थियो। प्रत्येक हाफ ४५ मिनेटसम्म अविराम चल्ने यही निरन्तरताले फुटबलको मौलिक पहिचान निर्माण गरेको थियो।

केभ भर्डेविरुद्धको खेलमा हाइड्रेसन ब्रेक लिँदै स्पेनिस खेलाडी। तस्बिर : रोयटर्स
तर‚ यस विश्वकपमा फुटबलको यो विशेषता बिस्तारै बदलिँदै गएको देखिन्छ। विभिन्न उद्देश्यका साथ लागु गरिएका नयाँ नियमले खेलको गति, लय र रणनीतिक स्वरूपमा परिवर्तन ल्याउँदा नतिजासमेत फेरिन थालेको छ। त्यसमध्ये हाइड्रेसन ब्रेक पनि एक हो।
गत वर्ष अमेरिकामा सम्पन्न क्लब विश्वकपका क्रममा धेरै खेल अत्यधिक गर्मीमा खेलिएका थिए। त्यसबेला अर्जेन्टिना तथा इङ्लिस क्लब चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजले आफूलाई खेलका क्रममा चक्कर लागेको र त्यस्तो तापक्रममा खेल्नु निकै जोखिमपूर्ण भएको प्रतिक्रिया दिएका थिए।
स्थानीय प्रशासनले रोक्दारोक्दै पनि फिफाले उक्त प्रतियोगिता सञ्चालन गरेको थियो। त्यतिबेला चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले अत्यधिक गर्मीका कारण अभ्यास छोट्याउनुपरेको दुखेसो गरेका थिए। स्पेनका मार्कोस लोरेन्तेले पनि क्यालिफोर्नियामा एट्लेटिको मड्रिडका लागि खेल्दा आफूलाई असह्य गर्मी भएको र खुट्टाका औँला तथा नङसम्म दुखेको अनुभव सुनाएका थिए।

क्लब विश्वकपको फाइनलमा चेल्सी र पेरिस सेन्ट-जर्मनबीचको खेलमा लिइएको हाइड्रेसन ब्रेक। तस्बिर : एपी
यिनै अनुभवका आधारमा फिफाले गत डिसेम्बरमा विश्वकप २०२६ का सबै १०४ खेलमा २२औँ र ६७औँ मिनेटमा समान तीन मिनेटको हाइड्रेसन ब्रेक लागु गर्ने घोषणा गरेको हो। त्यसअघि पनि विश्वकप तथा अन्य ठूला प्रतियोगितामा हाइड्रेसन ब्रेकको व्यवस्था हुन्थ्यो।
यसको सुरुआत सन् २०१४ मा ब्राजिलमा भएको नेदरल्यान्ड्स र मेक्सिकोबीचको खेलबाट भएको हो। उक्त खेलमा तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि ब्रेक दिइएको थियो। त्यसयता यस्तो व्यवस्था आवश्यकताअनुसार मात्र लागु हुँदै आएको थियो। अहिले भने मौसम जस्तोसुकै भए पनि सबै खेलमा हाइड्रेसन ब्रेक अनिवार्य गरिएको छ।
आलोचकहरूको भनाइमा फुटबल दुई हाफमा खेलिने खेल हो। प्रत्येक हाफमा अतिरिक्त विश्राम थपिएपछि चार क्वार्टरमा विभाजित खेल जस्तो बन्न थालेको छ।
एक हिसाबले यो ब्रेक धेरैलाई सामान्य जस्तो लाग्न सक्छ। तर‚ नतिजासँग जोडेर हेर्दा फुटबलको परम्परागत लय बिस्तारै परिवर्तन भइरहेको स्पष्ट देखिन्छ। यस नियमले खेलको प्रवाह र रणनीतिक पक्षमा उल्लेखनीय प्रभाव पार्न थालेको छ। खेल रोकिँदा प्रशिक्षकले टोलीलाई पुनः व्यवस्थित गर्ने, रणनीति परिवर्तन गर्ने र खेलाडीलाई प्रत्यक्ष निर्देशन दिने अवसर पाएका छन्। खेलाडीले पनि केहीबेर आराम गर्दै मानसिक र शारीरिक रूपमा आफूलाई पुनः तयार पारिरहेका छन्।
तर‚ सबैले यी परिवर्तनलाई सकारात्मक रूपमा लिएका छैनन्। विशेषगरी इङ्ग्लिस फुटबल समर्थकले हाइड्रेसन ब्रेकको खुलेर विरोध गरेका छन्। रोचक कुरा, यसै ब्रेकको फाइदा उठाउँदै इङ्ग्ल्यान्डले कंगोविरुद्ध पुनरागमन गर्दै जित हासिल गरेको थियो।
फुटबल बिगार्ने नियम
१ जुलाईमा एटलान्टा स्टेडियममा भएको अन्तिम ३२ को खेलको सातौँ मिनेटमै कंगोले ब्रायन सिपेंगाले खेलमार्फत अग्रता लिएको थियो। तर, १-० ले पछि परेको इङ्ल्यान्ड दोस्रो ब्रेकपछि रणनीतिमा परिवर्तन गर्दै खेलमा फर्कियो। यसका नायक रहे, कप्तान ह्यारी केन। उनले खेलको ७५ र ८७औँ मिनेटमा गोल गर्दै टोलीलाई २-१ को पुनरागमन जित दिलाए। तर, जित निकाले पनि इङ्ल्यान्ड टोली आफ्नै समर्थकबाट आलोचनाको सिकार भयो।
खेलको करिब २०औँ मिनेटदेखि नै रंगशालामा ‘बु’ गर्दै हुटिङ सुरु भएको थियो। पहिलो हाइड्रेसन ब्रेकका बेला त्यो आवाज अझ चर्कियो। खेल एटलान्टाको वातानुकूलित स्टेडियममा भइरहेको थियो। बाहिर पनि वर्षा भइरहेको थियो। यस्तो अवस्थामा खेल रोकिएपछि धेरै समर्थक हुटिङ गर्न बाध्य भएका थिए। उनीहरूको असन्तुष्टि खेलको लय रोकिएकामा थियो।

कंगोविरुद्धको खेलमा कप्तान ह्यारी केनलाई सम्झाउँदै इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेल। तस्बिर : रोयटर्स
नेपाली राष्ट्रिय टोलीका पूर्वविश्लेषक नइम नसिम सुल्तान पनि हाइड्रेसन ब्रेकप्रति असन्तुष्ट छन्। “यस ब्रेकले नतिजामा धेरै फरक देखिएको छ। कुनै पनि टोलीले राम्रो खेलिरहेको छ भने यो ब्रेक आउनासाथ त्यसको प्रदर्शन डाउन हुन्छ। अर्को नराम्रो गरिरहेको टोलीलाई भने फाइदा पुगिरहेको छ। यसले नराम्रो प्रदर्शन गरिरहेको टोलीका प्रशिक्षकलाई आफ्नो गल्ती सच्याउने मौका दिएको छ,” उनी भन्छन्।
यसको सबैभन्दा ठूलो उदाहरण चारपल्टको विश्व विजेता जर्मनी र डेब्यु टोली क्युरासाओबीचको खेललाई लिन सकिन्छ। २१औँ मिनेटसम्म खेल १-१ को बराबरीमा थियो। छैटौँ मिनेटमा फेलिक्स नेम्चाले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले गोल गर्दै कुरासाओलाई १-१ को बराबरीमा पुर्याए। यस विश्वकपमा कुरासाओको पहिलो गोल थियो। योसँगै उनका समर्थक उत्साहित बने। खेलमा ठूलो उथलपुथल आउने आकलन गरिएको थियो। तर, त्यसको दुई मिनेटपछिको हाइड्रेसन ब्रेकपश्चात् जर्मनी निर्मम देखियो।
मुख्य प्रशिक्षक जुलियन नागेल्समानलाई टोली सम्हाल्ने अवसर मिल्यो। ३८औँ मिनेटमा निको स्लोटरबेक, इन्जुरी समयमा काई हाभर्टज्ले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए। दोस्रो हाफमा जमाल मुसियाला, नाथानियल ब्राउनल, डेनिज उन्डाभ र हाभर्टज्ले गोल गर्दै जर्मनीको जितलाई ७-१ मा पुर्याए। जर्मनीले पछिल्लोपल्ट (सन् २०१४ मा) उपाधि जित्दा पनि सेमिफाइनलमा ब्राजिलविरुद्ध ७-१ कै जित निकालेको थियो।

विश्वकपको समूह जेअन्तर्गत अर्जेन्टिना र अस्ट्रियाबीचको खेलमा हाइड्रेसन ब्रेक लिँदै अर्जेन्टिनाका कप्तान लिओनल मेसी। तस्बिर : एपी
योबाहेक ब्राजिल र मोरक्को, जापान र नेदरल्यान्ड्स, आइभरी कोस्ट र इक्वेडर, इराक र नर्वे, दक्षिण कोरिया र चेक रिपब्लिका, मोरक्को र हाइटी, आइभरी कोस्ट र नर्वेलगायत टोलीबीच भएको खेलमा पनि हाइड्रेसन ब्रेकपछिका नतिजा यसरी नै उल्टिए।
आलोचनामा खेलाडी
खेलाडीको स्वास्थ्यलाई फिफाले यसपल्ट प्राथमिकतामा राखे पनि धेरैले खेलमा अनिवार्य रूपमा ब्रेक राखिएको निर्णयको आलोचना गरेका छन्। आलोचकहरूको भनाइमा फुटबल दुई हाफमा खेलिने खेल हो। प्रत्येक हाफमा अतिरिक्त विश्राम थपिएपछि चार क्वार्टरमा विभाजित खेल जस्तो बन्न थालेको छ।
विश्वकपअघि सेनेगलविरुद्धको मैत्रीपूर्ण खेलमा अमेरिकाका प्रशिक्षक माउरिसियो पोचेटिनोले हाइड्रेसन ब्रेकका क्रममा खेलाडीलाई वरिपरि भेला पारेर ल्यापटपमा ‘भिडिओ क्लिप’ देखाउँदै रणनीतिक निर्देशन दिइरहेको दृश्य भाइरल भएको थियो।
फुटबलमा यस्तो दृश्य बिरलै देखिने भएकाले धेरैले यो परम्परागत फुटबलभन्दा बास्केटबल, भलिबल वा फुटसलमा हुने ‘टाइमआउट’ जस्तै भएको टिप्पणी गर्दै आएका थिए। फिफाले विश्वकपको हाइड्रेसन ब्रेकका क्रममा टेलिभिजन प्रसारकलाई विज्ञापन देखाउन अनुमति दिएपछि भने आलोचना धेरै चर्कियो। धेरैले खेलाडीको स्वास्थ्यसँगै व्यावसायिक हित पनि यस निर्णयको मुख्य कारण भएको टिप्पणी गरे। कतिपयले यसलाई फिफाको अतिरिक्त आम्दानीसँग जोडेर हेरेका छन्।

स्विडेनविरुद्धको राउन्ड अफ ३२ खेलका क्रममा फिल्ड स्प्रिंकलरबाट ताजगी महसुस गर्दै फ्रान्सेली खेलाडी। तस्बिर : एपी
अमेरिकी खेल उद्योग विश्लेषक माइकल जोन्सनका अनुसार हाइड्रेसन ब्रेकका क्रममा देखाइने विज्ञापनको मूल्य अमेरिकी ‘सुपर बाउल’ को विज्ञापन सरह सातदेखि नौ मिलियन अमेरिकी डलरसम्म पुग्न सक्छ। उनका अनुसार सन् २०२२ मा भएको अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनल खेल विश्वभर करिब एक अर्ब ४२ करोड दर्शकले हेरेका थिए। यस्तो विशाल दर्शक संख्याले विज्ञापनदातालाई आकर्षित गर्नु स्वाभाविक भएको उनको भनाइ छ।
जोन्सनले अमेरिकी दर्शक खेलका बीचमा हुने विज्ञापन र विश्रामका अभ्यस्त भएकाले विश्वकप पनि बिस्तारै त्यही ढाँचातर्फ गइरहेको बताउँछन्। “अमेरिकी दर्शक एनएफएल र एनबीए जस्ता चार क्वार्टरमा खेलिने खेलमा अभ्यस्त छन्। उनीहरूलाई खेलकै बीचमा हुने विश्राम र विज्ञापन हेर्न पनि बानी परिसकेको छ। त्यसैले यो विश्वकप पनि मूलतः त्यही शैलीको प्रतिरूप बन्दै गएको छ,” उनी भन्छन्।
युरोपेली फुटबलमा इङ्ग्लिस प्रिमियर लिग जस्ता प्रतियोगिता परम्परागत रूपमा पे-टीभी नेटवर्क (बेलायतको स्काइललगायत) मार्फत प्रसारण हुने गर्छन्। त्यहाँ दर्शकले खेलअघि, हाफटाइममा र खेलपछि विज्ञापन हेर्ने गर्छन्। तर‚ खेलबीच भने विज्ञापन हेर्न रुचाउँदैनन्।
हुन त फुटबलले यसअघि पनि सुरुमा विवादास्पद मानिएका धेरै परिवर्तन आत्मसात् गरिसकेको छ। ‘ब्याक-पास’ नियम, भीएआर र थपिएको अतिरिक्त समय यसका उदाहरण हुन्। त्यसैले हाइड्रेसन ब्रेक पनि भविष्यमा फुटबलको स्थायी अभ्यास बन्ने सम्भावना नकार्न सकिँदैन।
खेल उद्योग विश्लेषक फ्राँस्वा गोदारका अनुसार स्काई जस्ता ‘सब्सक्रिप्सन’ मा आधारित प्रसारकले थप विज्ञापन समय पाएमा त्यसलाई स्वागत गर्न सक्छन्। किनभने, अतिरिक्त आम्दानी पनि हुन्छ। तर‚ विज्ञापन र खेलबीचको यो नयाँ ‘इन-गेम एड’ मोडलले युरोपेली बजारमा दर्शकको असन्तुष्टि बढाउन सक्ने चेतावनी पनि दिइएको छ। विशेषगरी फुटबललाई अमेरिकी शैलीमा अति व्यापारीकरण गर्ने प्रयास भएको भन्दै आलोचना बढ्ने सम्भावना देखिन्छ।
“फुटबल निरन्तर खेलका कारण प्रसिद्ध छ। तर‚ यस्तो परिवर्तनले खेललाई अति व्यापारीकृत बनाउँदै छ भन्ने चिन्ता छ। धेरै विज्ञापनले दर्शक थकित हुन सक्छन्, खासगरी जब उनीहरूले यसलाई अनावश्यक वा बाधा पुर्याउने रूपमा महसुस गर्छन्,” उनी भन्छन्।
यसअघि नै भीएआरका कारण पटक पटक खेल रोकिन थालेपछि धेरै समर्थकले असन्तुष्टि जनाउँदै आएका छन्। बारम्बारको अवरोधले फुटबलको स्वाभाविक लय र रोमाञ्चमा असर पुर्याएको छ। यसको झल्को फुटबल स्पोर्टस् एसोसिएसनले गरेको सर्वेक्षणमा पनि देखिन्छ। इङ्ग्लिस प्रिमियर लिगबारे गरिएको सर्वेक्षणमा सहभागीमध्ये ३.३ प्रतिशत समर्थकले मात्र भीएआरले खेल हेर्ने अनुभवलाई अझ राम्रो बनाएको बताएका थिए।

केप भर्डेविरुद्धको विश्वकप राउन्ड अफ ३२ को खेलको पूर्वसन्ध्यामा प्रशिक्षण सत्रको क्रममा अर्जेन्टिनाका कप्तान लिओनल मेसी दायाँ र रोड्रिगो डे पल। तस्बिर : एपी
बेलायतमा भने टेलिभिजन संस्था आईटीभीले हाइड्रेसन ब्रेकका क्रममा विज्ञापन नदेखाउने घोषणा गरिसकेको छ। बेलायती सञ्चार नियामक अफकमका विज्ञापनसम्बन्धी नियमका कारण यस्तो निर्णय गरिएको हो।
विश्लेषक गोदारका अनुसार बेलायती दर्शकले खेलबीच थप विज्ञापन रुचाउने सम्भावना पनि कम छ। यसैबीच, ३२ बाट बढाएर ४८ टोली सहभागी गराइएको विश्वकपका कारण फिफाको सन् २०२६ को कुल आम्दानी आठ अर्ब ९० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यसमध्ये करिब ४४ प्रतिशत हिस्सा टेलिभिजन प्रसारण अधिकारबाट आउने अपेक्षा गरिएको छ।
नेदरल्यान्ड्सका कप्तान भिर्जिल भान डाइकले भनेका छन्, “यो ब्रेक रोचक छ। तर‚ टेलिभिजन दर्शकका लागि राम्रो अनुभव हुँदैन। धेरै गर्मी भएमा यो आवश्यक हुन्छ, तर प्रत्येक खेलको अवस्थाअनुसार निर्णय गर्नुपर्छ।”
ब्रेकको समयमा प्रसारण संस्थाहरूले २० सेकेन्डपछि विज्ञापन देखाउन पाउने र खेल सुरु हुनुभन्दा ३० सेकेन्ड अगाडि पुनः प्रत्यक्ष प्रसारणमा फर्कनुपर्ने नियम छ। तर‚ बेलायतको आईटीभी र स्पेनिस भाषाको टेलिमुन्डोले भने विज्ञापन नदेखाई खेलकै दृश्य देखाउने निर्णय गरेका छन्। यता, नेपालमा भने डिगोले विज्ञापन देखाएर दर्शकलाई बारम्बार हैरान पारेको छ।
आफ्नै बचाउमा फिफा
फुटबलका नियम निर्माण गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले ९० सेकेन्डदेखि तीन मिनेटसम्मको ‘कुलिङ ब्रेक’ को व्यवस्था गर्न अनुमति दिएको छ। यही व्यवस्थाको पक्षमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो खुलेर उभिएका छन्।
उनका अनुसार हाइड्रेसन ब्रेकको उद्देश्य कुनै अतिरिक्त व्यावसायिक लाभ उठाउनु होइन। फिफाले विश्वकप सुरु हुनुअघि नै सबै प्रमुख व्यावसायिक सम्झौता टुंग्याइसकेकाले यो निर्णय आर्थिकभन्दा पनि खेलाडीको स्वास्थ्य, सुरक्षा र खेलको निष्पक्षतालाई ध्यानमा राखेर गरिएको हो।
“मुख्य कारण अत्यधिक गर्मी हो। विश्वकप जस्तो ३९ दिनसम्म चल्ने प्रतियोगितामा टोलीहरूले छोटो अन्तरालमा धेरै खेल खेल्नुपर्छ। त्यस्तो अवस्थामा खेलाडीलाई केही समय विश्राम दिने व्यवस्था अत्यन्त महत्त्वपूर्ण हुन्छ,” इन्फान्टिनोले भनेका छन्।

सेनेगलविरुद्ध गोल गरेपछि बेल्जियमका खेलाडी। तस्बिर : रोयटर्स
सबै टोलीले समान परिस्थितिमा प्रतिस्पर्धा गर्न पाउनु पनि उत्तिकै आवश्यक रहेको उनको मत छ। यदि कुनै खेलमा अत्यधिक गर्मीका कारण प्रशिक्षकले रणनीति परिवर्तन गर्ने अवसर पाउँछन्, तर अर्को खेलमा त्यस्तो अवसर नै हुँदैन भने प्रतिस्पर्धामा समानता कायम रहँदैन।
अब मुख्य प्रश्न भनेको हाइड्रेसन ब्रेक स्थायी नियम बन्छ कि बन्द हुन्छ भन्ने हो। युरोपेली फुटबल महासंघ (यूईएफए)ले हालको हाइड्रेसन ब्रेकसम्बन्धी व्यवस्था राम्रो रहेको जनाएको छ। तर, इङ्ग्लिस प्रिमियर लिगले यसलाई नियमित रूपमा लागु गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।
हुन त फुटबलले यसअघि पनि सुरुमा विवादास्पद मानिएका धेरै परिवर्तन आत्मसात् गरिसकेको छ। ‘ब्याक-पास’ नियम, भीएआर र थपिएको अतिरिक्त समय यसका उदाहरण हुन्। त्यसैले हाइड्रेसन ब्रेक पनि भविष्यमा फुटबलको स्थायी अभ्यास बन्ने सम्भावना नकार्न सकिँदैन।
फिफाले भविष्यका प्रतियोगितामा हाइड्रेसन ब्रेकलाई निरन्तरता दिने वा नदिनेबारे अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन। तर‚ सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा तथा सन् २०३४ को संस्करण साउदी अरेबियामा आयोजना हुने तय छ। यी भूमिमा तापक्रम उच्च हुन्छ। त्यसैले यो नियम कायम रहने सम्भावना बलियो देखिन्छ।

विश्वकपको समूह सीअन्तर्गत हाइटी र स्कटल्यान्डबीचको खेलमा ब्रेक लिँदै हाइटीका खेलाडी। तस्बिर : एपी
विश्लेषक माइकल जोन्सनका अनुसार यस्तो नियमले भविष्यमा विश्वकप प्रसारण अधिकारका लागि एप्पल, अमेजन र विशेष गरी नेटफ्लिक्स जस्ता स्ट्रिमिङ कम्पनीबीच प्रतिस्पर्धा अझ तीव्र हुन सक्छ। अमेरिकामा हाल फक्स स्पोर्टस्सँग रहेको विश्वकप प्रसारण अधिकार सन् २०२६ पछि समाप्त हुँदै छ।
उता, नेटफ्लिक्सले भने सन् २०२७ र २०३१ को महिला विश्वकपको प्रसारण अधिकार यसअघि नै सुरक्षित गरिसकेको छ। त्यसैले अब फुटबल समर्थकको टाउको दुखाइ झन् बढ्ने सम्भावना उच्च छ।