२० असार २०८३
अर्थमन्त्री स्वर्णिम वाग्ले। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्न प्रयासरत रहेको बताएका छन्।

राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा शनिबार वाग्लेले समयमै नेपाललाई ग्रे-लिस्टबाट बाहिर ननिकाले ब्ल्याक लिस्टमा पर्न सक्नेतर्फ सरकार सजग रहेको बताए।

उनले वर्तमान सरकार गठन भएपछि एफएटीएफका १५ वटा कार्ययोजनामा निकै प्रगति भएकोसमेत दाबी गरे।

सम्पत्ति शुद्धीकरणजस्तो शक्तिशाली ऐनलाई राजनीतिक अभीष्टका लागि दुरुपयोग गरिएमा ग्रे-लिस्टबाट बाहिर निस्कने सम्भावना झन् क्षीण हुने भएकाले सरकार यस विषयमा विशेष सतर्क रहेको उनले बताए।

बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ।