काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

वेस्ट इन्डिजविरुद्धको शृंखला

वेस्ट इन्डिजविरुद्धको शृंखलामा नेपाली टोली उत्साहसँगै दबाबमा

८ आश्विन २०८२
तस्बिरहरू : क्यान
अ+
अ-

कसैले यसलाई तीन खेलको टी–२० शृंखला मात्र भनेर सामान्यीकरण गर्लान्। तर, नेपाली क्रिकेट टोलीका लागि यो क्षण विशेष छ। नेपालले पहिलोपल्ट क्रिकेटको इतिहास बोकेको टेस्ट टोली वेस्ट इन्डिजसँग तीन खेलको टी–२० शृंखला खेल्ने अवसर पाएको छ।

दशकौँदेखि टेस्ट राष्ट्रसँग खेल्ने सपना बुनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि यो ऐतिहासिक अवसर पनि हो। लेग स्पिनर सन्दीप लामिछाने भन्छन्, “वेस्ट इन्डिजका प्रायः सबै खेलाडीसँग खेलिसकेको छु। तर, उनीहरूसँग खेल्दा निश्चित रूपमा एक्सपोजर पाइन्छ।”

नेपालले २ फेब्रुअरी १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यता पाएयता २१ राष्ट्रसँग एक सय तीन टी–२० अन्तर्राष्ट्रिय र १३ राष्ट्रसँग ७७ एकदिवसीय (ओडीआई) खेलिसकेको छ। तर, तीमध्ये आईसीसीका आठ पूर्ण सदस्य राष्ट्रसँग मात्र प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको छ। यद्यपि, यी बलिया राष्ट्रसँग नेपालले कहिल्यै शृंखला खेल्ने मौका भने पाएको थिएन। त्यही सूचीमा थियो, वेस्ट इन्डिज पनि।

त्यही कारण वेस्ट इन्डिजविरुद्धको शृंखला नेपालका लागि ऐतिहासिक बनेको छ। नेपाली टोली अहिले उत्साहसँगै दबाबमा पनि देखिन्छ। लामिछाने भन्छन्, “यो शृंखला अहिले बेबी स्टेप हो। राम्रो नतिजा निकाल्नैपर्छ। यति गर्न सक्यौँ भने अरू टेस्ट राष्ट्रसँग खेल्ने ढोका खुल्छ।”

सानो टिम, ठूलो मौका

विश्व क्रिकेटमा प्रदर्शन मात्र होइन, लगानीले पनि राष्ट्रको भविष्य निर्धारण गर्छ। यसको बलियो उदाहरण हो, अफगानिस्तान। सन् २०१४ को टी–२० विश्वकपमा समूह चरणमा नेपालसँग ९ रनले पराजित अफगानिस्तानले अहिले टेस्ट राष्ट्रको हैसियत बनाइसकेको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मात्र होइन, कुनैबेला भारत र पाकिस्तानले ‘न्युट्रल भेन्यु’ का रूपमा स्थापित गरेको संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि संरचनाकै कारण बाङ्लादेश र अफगानिस्तानसँग शृंखला खेल्ने अवसर प्राप्त गरिरहेको छ।

तर, विश्व क्रिकेटमा ‘कार्डियाक किड्स’ को उपनाम पाएको नेपाल अझै ‘एसोसिएट राष्ट्र’ को दायरामा सीमित छ।

आफूभन्दा पछि क्रिकेट खेल्न सुरु गरेका राष्ट्रले भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गरिरहँदा नेपाली खेलाडी भने अझै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको संरचना सुधार हुने प्रतीक्षामा छन्। यस्तोमा नेपालजस्तो राष्ट्र अफगानिस्तान र बाङ्लादेशको स्तरमा पुग्न अझ धेरै वर्ष लाग्ने देखिन्छ। त्यसैले नेपालसँग वेस्ट इन्डिजजस्ता अन्य ठूला टोलीसँग खेल्दै आफूलाई निखार्नुको विकल्प नरहेको ब्याटर सन्दीप जोरा स्विकार्छन्। उनी भन्छन्, “वेस्ट इन्डिज दुईपल्टको विश्वकप च्याम्पियन हो। उनीहरूबाट धेरै सिक्ने मौका पाउँछौँ।”

विश्व क्रिकेटमा १३ वटा राष्ट्र/प्रान्त मिलेर बनेको वेस्ट इन्डिज सन् २००९ देखि २०१६ सम्म टी–२० फर्म्याटमा हलचल मच्चाउने टोली थियो। सन् २००९ मा क्रिस गेलको कप्तानीमा वेस्ट इन्डिजले भारत, अस्ट्रेलिया र इङ्ल्यान्डजस्ता बलिया राष्ट्रलाई पराजित गर्दै पहिलो पटक टी–२० विश्व कपको सेमिफाइनल प्रवेश गर्‍यो, तर अपेक्षित नतिजा निकाल्न सकेन।

दुई वर्षपछि सन् २०१२ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको विश्वकपमा ड्यारेन सामीको नेतृत्वमा वेस्ट इन्डिजले भारत, पाकिस्तान, इङ्ल्यान्ड, अस्ट्रेलिया र श्रीलंकाजस्ता शक्तिशाली टोलीलाई पुनः हराउँदै पहिलोपटक टी–२० विश्वकप चुम्यो।

त्यसयता वेस्ट इन्डिजको लय उच्च रह्यो। सन् २०१४ मा नेपालले पारस खड्काको कप्तानीमा विश्वकप डेब्यु गर्दा त्यही संस्करणमा वेस्ट इन्डिजले पुनः सेमिफाइनलसम्म स्थान बनाएको थियो। तर, वर्षाका कारण डकवर्थ एन्ड लेविस पद्धति (डीएलएस) अनुसार श्रीलंकासँग २७ रनले पराजित हुँदा लगातार दोस्रोपटक फाइनल पुग्ने उसको धोको अधुरै रह्यो।

यद्यपि, त्यो निराशा लामो समय टिकेन। दुई वर्षपछि भारतमा भएको २०१६ को टी–२० विश्वकपमा कप्तान सामीको नेतृत्वमा वेस्ट इन्डिजले फाइनलमा इङ्ल्यान्डलाई चार विकेटले पराजित गर्दै पुनः उपाधि जित्यो। योसँगै वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकप जित्ने पहिलो राष्ट्र बन्न सफल भयो। अहिले यो उपलब्धि हात पार्ने राष्ट्रमा भारत र इङ्ल्यान्ड पनि थपिएका छन्।

दुर्भाग्य, सन् २०१६ को ऐतिहासिक उपलब्धिपछि वेस्ट इन्डिज टोलीमा ठूलो मोड आयो। क्रिस गेल, ड्वाने ब्राभो, सामी, आन्द्रे रसेलजस्ता स्टार खेलाडी क्रमशः अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा हुँदै गए। आन्तरिक विवाद, बोर्ड र खेलाडीबीचको तनाव र घरेलु क्रिकेटमा पर्याप्त लगानी गर्न नसक्दा पछिल्ला वर्ष वेस्ट इन्डिजले जोसिलो प्रदर्शन गर्न सकेको छैन।

आज पनि विश्व क्रिकेटमा वेस्ट इन्डिजको धाक उस्तै छ। आक्रामक ब्याटिङ शैली  र ‘क्यारिबियन फ्लेभर’ ले गर्दा यो टोलीले क्रिकेट इतिहासमा अलग्गै पहिचान बनाएको छ। यही कारण कुनै पनि राष्ट्र अहिले वेस्ट इन्डिजसँग शृंखला खेल्न तँछाडमछाड गरिरहेका हुन्छन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का भन्छन्, “नतिजा निकाल्न सके त झनै गज्जब हुन्छ। तर, राम्रो टिमसँग खेल्दा एकदमै आत्मविश्वास बढ्छ। हाम्रोजस्तो टोलीले वेस्ट इन्डिजसँग खेल्न पाउनु नै ठूलो उपलब्धि हो।”

खुल्ला त बाटो?

नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध लगभग जित हात पारिसकेको थियो। मात्र एक रनको अन्तरले पराजित भए पनि त्यो क्षणले विश्वभरका क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भयो। त्यस खेलमा जितनजिक पुग्दा नेपालले देखाएको साहसले टोलीलाई ‘कार्डियाक किड्स’ को उपनाम दिलायो। दक्षिण अफ्रिकाजस्तो बलियो राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्नु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि थियो।

अहिले नेपाली टोली नयाँ प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा छ। यो टोली २०२६ को टी–२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यमा छ। दुईपल्ट टी–२० विश्वकप खेलिसकेको नेपालले एकदिवसीय विश्वकपमा स्थान बनाउँछ भने त्यो अर्को ऐतिहासिक यात्रा हुनेछ।

त्यसका लागि नेपालसँग विकल्प धेरै छैन। यूएई, हङकङ, ओमान वा भारतका स्थानीय टोलीसँग मात्र अभ्यास गर्नु पर्याप्त हुनेछैन। ठूला टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गरे मात्र टोलीले आफ्नो वास्तविक स्तर थाहा पाउनेछ।

तर, विश्व क्रिकेटमा पाइला टेकेको करिब तीन दशकको इतिहास भए पनि अझै ‘बिग टेस्ट नेसन्स’ को नजरमा पूर्ण विश्वासिलो टोली बन्न सकेको छैन। त्यो नै नेपालको ठूलो कमजोरी हो। यद्यपि, पछिल्ला प्रदर्शनले विश्वभरका क्रिकेट बोर्डको ध्यान खिच्न सफल भएको छ। आयरल्यान्ड र वेस्ट इन्डिजले नेपाललाई निरन्तर अवसर दिँदै आफ्नो ‘ए’ टोली पठाएर प्रतिस्पर्धा गराइरहेका छन्। सारजाह अन्तर्राष्ट्रिय रंगशालामा २७, २९ र ३० सेप्टेम्बर हुने शृंखलामा वेस्ट इन्डिजले डेब्यु गर्न बाँकी पाँच खेलाडीसँगै बलियो टोली पठाएको छ।

त्यसैले यो अवसर सदुपयोग गर्न ठोस योजना बनाउनुपर्ने नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल बताउँछन्। “अहिले यूएई र ओमान एसिया कप खेल्दै तयारी गरिरहेका छन्। हामीले चाहिँ वेस्ट इन्डिजसँग खेल्दै त्यसरी नै तयारी गर्ने अवसर पाएका छौँ। त्यसैले भविष्यका लागि भए पनि यो शृंखलामा जित निकाल्ने योजना बनाउनुपर्छ,” उनी भन्छन्।

नेपालले जिते नेपाली खेलाडीलाई निरन्तर प्रतिस्पर्धात्मक वातावरण मिल्नेछ। कम्तीमा दक्षिण अफ्रिकासँगको जस्तै नतिजा निकाले भविष्यका लागि ठूला राष्ट्रसँग बाटो खुल्ने देखिन्छ। त्यसैले भविष्यमा टेस्ट राष्ट्रको दर्जा हासिल गर्ने यात्रामा यो शृंखला महत्त्वपूर्ण बन्ने देखिन्छ।