म्युनिख। जर्मनीको म्युनिखमा दोस्रो ‘नेपाली रूट्स समिट २०२६’ सम्पन्न भएको छ।
जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा समुदायका अगुवाबीच बलियो सञ्जाल निर्माण गर्ने तथा उक्त सञ्जालमार्फत नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने उद्देश्यसहित नेपाली रुट्सद्वारा आयोजना गरिएको हो।
नेपाली रुट्स जर्मनी तथा युरोपमा रहेका नेपालीमूलका विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थी, व्यवसायीलाई जोड्ने उद्देश्यले स्थापना भएको संस्था हो। संस्थाले नियमित रूपमा नेपाली डायस्पोरालाई समेटेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यसले ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य र नेपालसँगको सम्बन्धलाई अझ अर्थपूर्ण बनाउने प्रयास गर्दै आएको अध्यक्ष कृतन गौतमले जानकारी दिए।
नेपाली रुट्स समिटले जर्मनीका विभिन्न सहरबाट आएका ९६ नेपालीलाई एकै मञ्चमा उभ्याएको थियो। कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयालले नेपाली रुट्स नेपाली डायस्पोराको साझा मञ्चका रूपमा महत्त्वपूर्ण संस्था भएको उल्लेख गरे।
उनले परम्परागत कूटनीतिबाट आर्थिक कूटनीतितर्फ सरकारको प्राथमिकता बढ्दै गएको बताउँदै पर्यटन व्यापार, उद्योग, ऊर्जा, आईटी, वाणिज्य र नवप्रवतनजस्ता क्षेत्रमा डायस्पोराको ज्ञान, सीप र सञ्जाल उपयोग गर्नुपर्नेमा जोड दिए।
गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपालि रुट्स र एनआरएनएबीच नजिकको सहकार्य आवश्यक रहेको बताए। उनले नयाँ पुस्ताको आवश्यकता बुझ्न नेपाली रुट्सजस्ता संस्थाबाट सिक्न चाहेको उल्लेख गरे।
नेपाली रुट्सका सचिव जितेन्द्र कशौधनले सहभागीलाई स्वागत गर्दै नेपाली रुट्स जर्नलको उद्घाटनसमेत गरे। उनले विश्वभर फैलिएको नेपाली डायस्पोरा अहिले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगिरहेको सन्दर्भमा उनीहरूबीच बलियो सञ्जाल निर्माण गर्नु अहिलेको आवश्यकता रहेको औँल्याए।
समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्वजस्ता समसामयिक विषयमा छलफल गरिएको थियो। विभिन्न क्षेत्रका विज्ञले आफ्नो अनुभव र दृष्टिकोण राख्दै व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरसिप तथा सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरूले नयाँ सहकार्यका सम्भावनाबारे छलफल गर्नुका साथै विभिन्न क्षेत्रका नेपालीसँग अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गरेका थिए। डायस्पोरालाई नेपालसँग जोड्न नेपाल सरकारका तर्फबाट पनि नीतिगत पहल जस्तै- रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता, डायस्पोरा फन्डको उपयुक्त परिचालनजस्ता कुरामा जोड दिनुपर्ने बताएका थिए।
आयोजकले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीलाई जोड्ने र नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।