काठमाडौँ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम बढ्ने बताए।
“केही दिनअघि परेको पानीले डेंगी सङ्क्रमण बढाउने खतरा छ‚” उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ। त्यही लामखुट्टेले डेंगी सार्छ।” उनले पानी पर्न सुरु गरेकाले डेंगी सङ्क्रमणको जोखिम पनि बढेको बताए। उनले डेंगीबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरे।
दाहालका अनुसार डेंगी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ। “पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फूलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेंगी लाग्छ। तसर्थ लामखुट्टेले फुल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ‚” उनले भने।