काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

उद्यम

कृषि उद्यम थालेका पाँच युवाको डेरी व्यवसाय, गाउँमै सम्भावनाको उदाहरण

२१ असार २०८३
नन्दिनी डेरी। तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका-२३ र महोत्तरीको पिपरा गाउँपालिकाको सिमानामा रहेको नन्दनी डेरी उद्योगमा बिहानदेखि साँझसम्म ग्राहकको चहलपहल हुन्छ। कोही दूध, दही र पनिर किन्न जान्छन्, कोही नास्ता र मिठाईका लागि त्यहाँ पुग्छन्।

करिब १३ वर्षअघि पाँच युवाले सुरु गरेको डेरी दूध र दुग्धजन्य परिकारका कारण अहिले स्थानीय बजारमा परिचित छ। कुनै बेला खेतीयोग्य जमिन मात्र रहेको ठाउँमा डेरी खुलेपछि आसपासमा घर र पसल पनि थपिन थालेका छन्।

नन्दनी डेरीको सुरुआत भने व्यवसाय गर्ने योजनाबाट मात्र भएको थिएन। सिरहाका ४३ वर्षीय अजितकुमार कर्ण एक गैरसरकारी संस्थामा काम गर्थे। मासिक करिब ५० हजार रुपैयाँ कमाउँथे। ओशो विचारधाराबाट प्रभावित उनी केही साथीसँग मिलेर सिरहामा आश्रम बनाउने योजनामा थिए। तर, आश्रम निर्माणका लागि आवश्यक खर्च जुटेन। त्यही अलमलबीच उनीको भेट भयो; पिपरा गाउँपालिका-७ का राकेशकुमार झा, सुखीपुर नगरपालिका-२ का मनोजकुमार यादव, रामरिझन यादव र इन्दिरा दाससँग। राकेश निजी निजी स्कुलमा पढाउँथे भने मनोज औषधिको मार्केटिङ गर्थे। रामरिझन र इन्दिरा अध्ययन सकेर ‘करिअर’ को खोजीमा थिए।

त्यसैबीच उनीहरूले कृषि उद्यम गर्ने निर्णय गरे। जलेश्वर-जनकपुर सडकखण्डमा राकेशकुमार झाको केही जग्गा थियो। त्यही जग्गालाई उपयोग गरेर उनीहरूले खेती र पशुपालन सुरु गर्ने योजना बनाए।

सञ्चालक अजित कर्ण।

अनुभव थिएन, तर केही गर्न सकिन्छ भन्ने विश्वास थियो। तत्काल लगानी गरेर चाँडै आम्दानी गर्न सकिने क्षेत्रको खोजी गर्दा उनीहरू गाईपालनतर्फ लागे। महोत्तरीको गम्हरियाबाट १० हजार रुपैयाँमा एउटा गाई किनेर ल्याए। गाईको नाम राखे– नन्दनी। त्यही गाईको नामबाट सुरु भयो नन्दनी डेरी उद्योग।

२०६८ माघदेखि सुरु भएको डेरीमा सुरुमा उनीहरू आफैँ गाईको स्याहार, घाँसपात, पानी र दूध बिक्रीमा खटिए। गाईको दूध जनकपुर बजारमा बेच्न थाले। शुद्ध दूध बिक्रीको व्यावसायिक प्रतिबद्धताका कारण माग बढ्दै गएपछि गाई थपेर ३४ वटासम्म पुर्‍याएको उनीहरू बताउँछन्।

पछि, उनीहरूले दूध मात्र होइन, मिठाई र नास्ता पनि बेच्न थाले। अहिले डेरीमा दूध, दही, पनीर, घिउ, रसबरी, लालमोहन, पेडा, बर्फीलगायत करिब २८ प्रकारका मिठाई उत्पादन हुन्छन्। डोसा, चाउमिन र चाट जस्ता परिकार पनि बिक्री हुन्छन्। जलेश्वर-जनकपुर सडकखण्डमा पर्ने भएकाले आवतजावत गर्ने यात्रु र स्थानीय उपभोक्ता नियमित ग्राहक बनेका छन्।

सञ्चालक अजितकुमार कर्णका अनुसार तत्कालीन बजार प्रवर्द्धन निर्देशनालय, काठमाडौँबाट प्राप्त १० लाख रुपैयाँ अनुदान, आफ्नै लगानी र करिब १८ लाख रुपैयाँ ऋण थपेर डेरी सञ्चालनमा ल्याइएको थियो।

बनौली, दनौली, सहोरवा, विन्धी, आवर र धनुषाको परवतासम्मका किसान नन्दनी डेरीमा दूध बिक्री गर्ने पुग्ने गरेको सञ्चालकहरू बताउँछन्। विवाह र चाडपर्वका बेला मिठाईको माग बढ्दा सिरहा र सप्तरीसम्मबाट पनि दूध ल्याउनुपर्ने अवस्था हुने उनीहरूको भनाइ छ।

“सुरुदेखि नै हामीले गुणस्तरमा सम्झौता नगर्ने निर्णय गरेका थियौँ,” कर्ण भन्छन्, “थोरै महँगो भए पनि शुद्ध र राम्रो सामान बेच्ने हाम्रो सोच थियो। ग्राहकको विश्वास त्यही कारणले बढ्यो।”

जग्गाधनी राकेशकुमार झा पनि डेरीमा लाग्ने निर्णयले आफूहरूको जीवनको दिशा नै बदलिएको बताउँछन्। उनका अनुसार उनको जग्गामा कहिले खेती हुन्थ्यो त कहिले बाँझै रहन्थ्यो। पाँचै जनाले मिलेर केही गर्नुपर्छ भन्ने सोच बनाएपछि डेरीका लागि जग्गा उपयोग गर्ने विचारले राम्रो परिणाम दिएको उनी बताउँछन्।

“कृषिलाई व्यवस्थित रूपमा पेसा बनाउन सकियो भने आम्दानीको राम्रो माध्यम बन्न सक्छ,” झा भन्छन्, “हामीमध्ये तीन जना स्नातकोत्तर र दुई जना स्नातक छौँ। पढेका युवाले पनि कृषि र उद्यम गर्न सक्छन् भन्ने उदाहरण दिन खोजेका हौँ।”

अहिले उनीहरूले व्यवसायको ढाँचामा केही परिवर्तन गरेका छन्। गाईपालनमा थप जनशक्ति चाहिने र स्थानीय किसानलाई दूध बिक्री गर्न समस्या हुने देखेपछि उनीहरूले आफ्ना गाई बिक्री गरेर किसानबाट दूध खरिद गर्न थालेका छन्।

बनौली, दनौली, सहोरवा, विन्धी, आवर र धनुषाको परवतासम्मका किसान नन्दनी डेरीमा दूध बिक्री गर्ने पुग्ने गरेको सञ्चालकहरू बताउँछन्। विवाह र चाडपर्वका बेला मिठाईको माग बढ्दा सिरहा र सप्तरीसम्मबाट पनि दूध ल्याउनुपर्ने अवस्था हुने उनीहरूको भनाइ छ।

सुरुमा पाँचै जना खटेर सुरु भएको व्यवसाय अहिले २३ जनालाई रोजगारी दिने अवस्थामा पुगेको छ। कर्मचारीको तलबमा मात्रै मासिक पाँच लाख रुपैयाँ जति खर्च हुने गरेको सञ्चालक अजित कर्ण बताउँछन्।

“गाई धेरै राख्दा मजदुर थप्नुपर्ने भयो। अर्कातर्फ गाउँका किसानलाई दूध बेच्न समस्या थियो,” कर्ण भन्छन्, “त्यसैले किसानसँग दूध किनेर बजारसम्म पुर्‍याउने मोडलमा गयौँ। यसले किसानलाई पनि फाइदा भयो, हामीलाई पनि काम गर्न सजिलो भयो।”

पिपरा गाउँपालिका-७ का किसान विन्देश्वर यादव डेरी खुलेपछि दूध बिक्री गर्न सजिलो भएको बताउँछन्। “पहिले दूध बिक्री नभएर समस्या हुन्थ्यो,” यादव भन्छन्, “अहिले घरनजिकै दूध बिक्री हुन्छ। पैसा पनि समयमै पाइन्छ।” सञ्चालकहरूका अनुसार डेरीबाट वार्षिक करिब ७० हजार लिटर दूध बिक्री हुन्छ।

सुरुमा पाँचै जना खटेर सुरु भएको व्यवसाय अहिले २३ जनालाई रोजगारी दिने अवस्थामा पुगेको छ। कर्मचारीको तलबमा मात्रै मासिक पाँच लाख रुपैयाँ जति खर्च हुने गरेको सञ्चालक अजित कर्ण बताउँछन्।

“स्थानीयलाई रोजगारी दिन पाउँदा सन्तोष लागेको छ,” उनी भन्छन्, “किसानले आफ्नो उत्पादनको मूल्य पाएका छन्। हामीलाई पनि कारोबारमा नैतिक बल मिलेको छ।”

नन्दनी डेरी पाँच युवाको उद्यम मात्र होइन, स्थानीय किसानसँग जोडिएको सानो तर प्रभावकारी व्यावसायिक मोडल पनि बनेको छ। यसले किसानको दूधलाई बजार दिएको छ, स्थानीयलाई रोजगारी दिएको छ र सडक किनारको एक ठाउँलाई व्यापारिक गन्तव्यमा बदल्न थालेको छ।

अहिले भाडामा लिएको एक कट्ठासहित करिब २४ कट्ठा क्षेत्रफलमा व्यवसाय सञ्चालन भइरहेको छ। गाईपालन गर्दा भने घाँस खेतीका लागि उनीहरूले छुट्टै दुई बिघा जमिन पनि प्रयोग गरेका थिए।

डेरीको वार्षिक कारोबार करिब एक करोड रुपैयाँ हाराहारी पुगेको सञ्चालकहरूको दाबी छ। सरोकारवाला निकायमा दर्ता गरेर उद्यम सुरु गरे पनि पाँच सञ्चालकबीच भने स्वामित्व र कारोबारसम्बन्धी औपचारिक लिखित सम्झौता नभएको उनीहरू बताउँछन्। आपसी विश्वास नै आफूहरूको व्यावसायिक सफलताको आधार भएको उनीहरूको भनाइ छ।

“हामीबीचको विश्वासले नै यहाँसम्म ल्याएको हो,” कर्ण भन्छन्, “आगामी दिनमा पनि यही विश्वासका साथ अघि बढ्ने सोच छ।”

उनीहरू व्यवसाय विस्तारको योजना पनि अघि बढाइरहेका छन्। डेरीवरपर रहेको खाली जग्गामा व्यवस्थित होटल र दुई वटा रेस्टुराँ बनाउने काम भइरहेको कर्ण बताउँछन्। उनका अनुसार पाँचदेखि १० वटा कोठासहितको होटल र रेस्टुराँ केही समयमै सञ्चालनमा ल्याउने तयारी छ।

निर्माणाधीन होटल र रेस्टुराँ।

नन्दनी डेरी पाँच युवाको उद्यम मात्र होइन, स्थानीय किसानसँग जोडिएको सानो तर प्रभावकारी व्यावसायिक मोडल पनि बनेको छ। यसले किसानको दूधलाई बजार दिएको छ, स्थानीयलाई रोजगारी दिएको छ र सडक किनारको एक ठाउँलाई व्यापारिक गन्तव्यमा बदल्न थालेको छ।

युवाहरूको प्रयासले देखाएको छ– योजना, निरन्तरता र विश्वास भए गाउँमै बसेर पनि उद्यम गर्न सकिन्छ।