दोस्रोपटक सूचना टाँस‚ संरचना नहटाइए आफैँ हटाउने अस्पतालको चेतावनी
विराटनगर। विराटनगरस्थित कोसी अस्पतालले आफ्नो स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन सातदिने अन्तिम समयसीमा (अल्टिमेटम) दिएको छ।
यसअघिको १५ दिने म्यादलाई विभिन्न संघसंस्थाले बेवास्ता गरेपछि अस्पताल प्रशासनले सोमबार दोस्रोपटक सार्वजनिक सूचना टाँस गर्दै संरचना खाली गर्न कडा निर्देशन दिएको हो।
अस्पतालको स्वामित्वमा रहेको विराटनगर ७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को करिब १० कठ्ठा बहुमूल्य जग्गा वर्षौंदेखि विभिन्न चार संस्थाले कब्जा गर्दै आएका छन्। नापी कार्यालय मोरङले गत २९ जेठमा गरेको फिल्ड रेखांकन प्रतिवेदनले उक्त जग्गा अस्पतालकै भएको पुष्टि गरिसकेको छ। तर त्यहाँ संरचना बनाएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले जग्गा खाली गर्न अटेर गर्दै आएका छन्।
सामाजिक सेवाको आवरणमा जग्गा ओगटेका यी संस्थाहरूले ३० भन्दा बढी व्यावसायिक सटर निर्माण गरी मासिक लाखौँ रुपैयाँ भाडा असुलिरहेको पाइएको छ। अस्पतालको आन्तरिक अध्ययनअनुसार क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर जग्गामा बनेका संरचनाबाट मासिक करिब दुई लाख रुपैयाँ भाडा उठाउँछ। यस्तै नेपाल रेडक्रस सोसाइटीले दुई कठ्ठामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ।
गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि व्यावसायिक सटरहरूबाट उल्लेख्य आम्दानी गरिरहेका छन्।
अस्पतालको अतिक्रमित जग्गाको अवस्थाबारे आइतबार साँझ गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्रीद्वयले सरकारी सम्पत्तिको अस्वाभाविक दोहन रोक्न र अस्पतालको विकासका लागि जग्गा तुरुन्त खाली गराउन निर्देशन दिएका थिए।
स्वास्थ्यमन्त्री मेहताले अस्पतालले दिएको पहिलो म्याद सकिँदा पनि संरचना नहटाउनु चुनौतीपूर्ण रहेको बताउँदै अबको एक साताभित्र जसरी पनि खाली गराइने प्रतिबद्धता जनाइन्। “अस्पतालको जग्गामा बनेका अनधिकृत संरचना अबको एक हप्ताभित्र खाली हुन्छ। हामी यसलाई कार्यान्वयन गरेरै छाड्छौँ,” उनले भनिन्।
विगत लामो समयदेखि आफ्नै जग्गा अरूले उपभोग गरिरहँदा अस्पतालले भने पूर्वाधार विस्तारका लागि जग्गा अभाव खेपिरहेको छ। विडम्बना त के छ भने, जग्गाबाट हुने आम्दानी अरूले लिइरहेका छन् तर अस्पतालले भने सरकारलाई नियमित राजस्व बुझाइरहेको छ। अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार अस्पतालले २०८३ असारसम्मको १० लाख ५७ हजार ८६० रुपैयाँ राजस्व सरकारलाई तिरिसकेको छ।

कोसी अस्पतालको अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउन दोस्रोपटक टाँस गरिएको सूचना।
अस्पतालले यसअघि ५ असारमा १५ दिनको म्याद दिएर पहिलोपटक सूचना जारी गरेको थियो। जसको म्याद १९ असारमा सकिएको थियो। यो अवधिमा पनि संरचना नहटाएपछि २२ असारदेखि लागू हुने गरी सात दिनको अन्तिम अल्टिमेटम दिइएको हो। तोकिएको समयभित्र पनि संरचना नहटाए प्रचलित कानुनबमोजिम अस्पताल प्रशासन आफैँले संरचना हटाउने चेतावनी दिएको छ।