काठमाडौँ। गुन्डा नाइके अभिषेक गिरी फेरि पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण कसुर अनुसन्धान सिलसिलामा गिरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मोरङबाट सोमबार राति पक्राउ गरेको हो।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार गिरीलाई पक्राउ गरी काठमाडौँ पठाउने तयारी भइरहेको छ। “हामीले पक्राउ गरी गिरीलाई आजै ब्युरोको जिम्मा लगाएका छौँ,” कटवालले भने।
यसअघि गिरीलाई उच्च अदालत विराटनगरले सोमबार नै थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो। मोरङ कारागारका कैदीबन्दीसँग आपराधिक लाभ लिएको कसुरमा गिरी गत शनिबार पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङले गिरीलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा म्याद थप गर्न जिल्ला अदालत मोरङ पठाएको थियो। अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै प्रहरीले गिरीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कटवालले बताए।