काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

२४ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेले गएराति विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिए।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरेको थेबेले बताए।

पक्राउ पर्नेमा सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका ३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका ६ का रविना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, सुनसरीको धरान उपमहानगरपालिका १५ का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका ३ का साबिन किराती, धरान ६ का मनीष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका ५ का उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका १७ का धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका २ का रोहित मेहता र धरान उपमहानगरपालिका ११ का विनोद भट्टराई छन्।

गत २२ असारमा झापाको दमक नगरपालिका १‚ कुमाल चोकका प्रवीण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका ४ का २७ वर्षीय दीपक रामलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यही २१ असारमा गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने बिचौलिया गतिविधि, अनियमितता र बिरामीलाई गरिने ठगी नियन्त्रणका लागि प्रतिष्ठानका सम्बन्धित निकाय र पदाधिकारीहरूलाई निर्देशन दिएका थिए।