काठमाडौं। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत रहेका देशभरका विभिन्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले आफ्ना क्षेत्रभित्र सञ्चालित अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन अवस्थाबारे आकस्मिक निरीक्षण गरेका छन् ।
मिति २०८३/०३/२५ मा गरिएको यस निरीक्षणका क्रममा अधिकांश प्रतिष्ठानहरूमा सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्धता र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कमजोरी देखिएको छ।
काठमाडौँका नेपाल भारत मैत्री अस्पताल, चिरायु पोलीक्लिनिक र भेनस अस्पतालमा गरिएको निरीक्षणमा कामदारहरूलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको छ । त्यस्तै, ललितपुरको आमप्रस इन्डस्ट्रिजमा प्रकाशको मापदण्ड न्यून रहेको र सुरक्षा उपकरण (पिपिई ) को प्रयोग गर्न निर्देशन दिइएको छ।पोखरा कार्यालयले तनहुँको शुक्लागण्डकी क्षेत्रका दर्जनौँ सहकारी, डेरी र एकेडेमीहरूको निरीक्षण गरेको छ ।
निरीक्षण गरिएका रोयल बचत तथा ऋण सहकारी, माउन्ट अन्नपूर्ण एकेडेमी लगायतका संस्थालाई श्रम अडिट पेस गर्न र कर्मचारीसँग रोजगार सम्झौता गर्न भनिएको छ ।
बुटवलमा रहेका लुम्बिनी डेरी र शुभ ओम कम्पनी (पौवा होटल) लाई नियुक्ति पत्र दिन र ओभरटाइम (ओटी) बापतको थप सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ। नेपालगन्जको युरो बेबी जोन स्कुलमा पनि न्यूनतम पारिश्रमिक लागू गर्न निर्देशन दिइएको छ।
झापाको कञ्चनजंघा मोडेल हस्पिटल र लिटल फ्लावर स्कुललाई १५ दिनभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुन र श्रम अडिट पेस गर्न निर्देशन दिइएको छ।
विराटनगरमा युरो कार्डियो र आर.के. चिल्ड्रेन हस्पिटलको निरीक्षण गरी सबैलाई नियुक्ति पत्र दिन भनिएको छ। निरीक्षणका क्रममा श्रम कार्यालयहरूले मुख्य गरी कर्मचारीहरूको रोजगार सम्झौता, श्रम अडिट, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य (ओएसएच) नीति र न्यूनतम पारिश्रमिकको अनिवार्य कार्यान्वयनमा जोड दिएका छन्।
यस निरीक्षणले श्रम बजारमा श्रमिकको हकहित र सुरक्षा सुनिश्चित गर्न सरकारी निकायहरू सक्रिय रहेको देखाएको छ। कुल २८ वटा प्रतिष्ठानहरूमा गरिएको यस निरीक्षणले श्रम ऐनको पूर्ण पालनाका लागि दबाब सिर्जना गरेको छ।