२७ असार २०८३
अ+
अ-

सुर्खेत। सुर्खेतबाट कालिकोटतर्फ गइरहेको गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएका चारमध्ये तीन जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछामको तुर्माखाँद गाउँपालिका २, जमगडामा पर्ने कर्णालीकिनारमा सुर्खेतको पञ्चपुरी नगरपालिका ८‚ माझीगाउँका तुलाराम सुवेदीको शव भेटिएको हो।

यसअघि पचालझरना गाउँपालिका ९, कालीकोटका ६२ वर्षीय मेखे तिरुवा, रास्कोट नगरपालिका २, खड्कागाउँ कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव भेटिएको थियो।

यही १८ असारमा दुर्घटनामा बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अझै फेला परेका छैनन्। सुवेदी र गाडीको खोजीमा गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सेना परिचालन भएको छ। -रासस