जनकपुरधाम। मधेस प्रदेशमा ३३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार धान खेती हुने ३ लाख ८२ हजार ४३३ हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म १ लाख २६ हजार ४३९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
जिल्लागत रूपमा सबैभन्दा बढी सिरहामा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम रौतहटमा १६ प्रतिशत मात्र धान रोपाइँ भएको छ।
मधेसका कतिपय जिल्ला तथा क्षेत्रमा सिँचाइको अभाव रहेकाले किसानहरू अझै पनि आकाशे पानीकै भरमा खेती गर्दै आएका छन्। हालसम्म पर्याप्त वर्षा नभएकाले रोपाइँमा उल्लेख्य प्रगति हुन सकेको छैन।
मधेस प्रदेशको कुल सिँचित क्षेत्रफल ४.३४ प्रतिशतले घटेर ३ लाख १९ हजार ८० हेक्टरमा पुगेको छ। कुल सिँचित क्षेत्रफलमध्ये कुलोबाट सिँचित क्षेत्रफल ५.६७ प्रतिशतले घटेर १ लाख ७ हजार २३४ हेक्टर, नहरबाट सिँचित क्षेत्रफल ०.९७ प्रतिशतले घटेर १ लाख ६५ हजार १२४ हेक्टर तथा बोरिङबाट सिँचित क्षेत्रफल ९ प्रतिशतले घटेर ४१ हजार ५८६ हेक्टरमा पुगेको छ।
गत वर्ष भने समग्र सिँचित क्षेत्रफल २.४१ प्रतिशतले वृद्धि भएको थियो। त्यसमध्ये नहरबाट सिँचित क्षेत्रफल ४.३१ प्रतिशतले वृद्धि भएको थियो।