जनकपुरधाम। मधेस प्रदेशमा विपक्षी दलहरुले गर्दै आएको प्रदेश सभा अवरोध हटेको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्दै विपक्षी दलहरुले प्रदेश सभा अवरोध गर्दै आएका थिए।
सत्तापक्ष र विपक्षी दलहरूबीचमा भएको सर्वदलिय बैठकमा कार्यदल बनाउने सहमति भएसँगै प्रदेश सभामा विपक्षी दलहरुले गर्दै आएको अवरोध आजदेखि हटेको हो।
प्रदेश सभाको बैठकमा सभामुखले आर्थिक वर्ष २०८३/८४ बजेट लगायत समस्या समाधान गर्न कार्यदल गठन गरिएको जानकारी दिए। कार्यदलले आजदेखि काम प्रारम्भ गर्ने र आफ्नो कार्यविधिहरू समेत आफै निर्माण गर्ने सभामुखले घोषणा गरे।
कार्यदलमा उपेन्द्र महतो, हरिनारायण महताे, जङ्गीलाल राय, प्रमोदकुमार यादव, संजय कुमार यादव, बिमला अन्सारी, सरिता कुमारी ठाकुर रहेका छन्। कार्यदल गठनसँगै विपक्षी दलहरूले प्रदेशसभा बैठकमा गर्दै आएको अवरोध भने हटेको छ।
अवरोध हटेसँगै अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक २०८३ प्रदेश सभामा प्रस्तुत गरेका छन्।