काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२८ असार २०८३
अ+
अ-

लमजुङ । यहाँस्थित ऐतिहासिक सम्पदा लमजुङ दरबारको पुनर्निर्माण बजेट नियमित उपलब्ध हुन नसक्दा लम्बिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको पुनर्निर्माण बजेट अभावका कारण तोकिएको समयमा पूरा हुन सकेको छैन ।

बेँसीसहर नगरपालिका-३ गाउँसहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा रहेको लमजुङ दरबारको पुनर्निर्माण पुरातत्व विभागमार्फत भइरहेको हो। आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको कामका लागि विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन हुँदै आएको थियो।

पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार सुरुमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर आवश्यक बजेट समयमा उपलब्ध हुन नसक्दा निर्माण अवधि लम्बिएको हो। उनका अनुसार चालु आर्थिक वर्षमा रु ३५ लाख बराबरको ठेक्काबाट भइरहेको निर्माण गत जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि तोकिएको समयमा पूरा हुन सकेन।

हालसम्म यस चरणअन्तर्गत करिब ५० प्रतिशत काम सम्पन्न भएको छ भने करिब ३० प्रतिशत रकम भुक्तानी भइसकेको छ। हाल दरबारमा गारो तथा पर्खाल निर्माण, काठका बिम तयार गर्ने तथा छानो राख्नका लागि आवश्यक काठको संरचना तयार गर्ने काम भइरहेको उनले बताए।

निर्माण सम्झौताको म्याद सकिएपछि तोकिएको व्यवस्थाअनुसार दैनिक शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले जरिवाना कट्टा हुँदै निर्माण जारी रहेको अधिकारीले जानकारी दिए। “अब करिब डेढ हप्ताभित्र यो चरणको काम सकिने अपेक्षा गरेका छौँ । चालु आर्थिक वर्षको बजेटबाट दरबारतर्फ छानो राख्न आवश्यक काठको संरचना करिब आधासम्म तयार हुनेछ भने कालिका मन्दिरतर्फको काम पूरा हुन्छ”, उनले भने।

उनका अनुसार दरबारमा छानो राख्ने काम भने आगामी बजेटको व्यवस्था भएपछि मात्रै अघि बढ्नेछ । आवश्यक बजेट समयमै विनियोजन भए आगामी आर्थिक वर्षमै पुनर्निर्माण सम्पन्न गर्न सकिने भए पनि बजेट अभाव कायम रहे निर्माण अवधि थप लम्बिन सक्ने उनले बताए।

आव २०७९/८० मा रु एक करोड ३३ लाख र आव २०८०/८१ मा रु ५० लाख बजेट विनियोजन गरिएको थियो । तर आवश्यकता अनुसार निरन्तर बजेट उपलब्ध हुन नसक्दा बर्सेनि चरणबद्ध रूपमा काम गर्नुपर्ने अवस्था आएको विभागको भनाइ छ । पुनर्निर्माण लम्बिदा ऐतिहासिक सम्पदाको संरक्षणमा चुनौती थपिएको छ। निर्माण सामग्री लामो समय खुला अवस्थामा रहँदा वर्षायाममा क्षति पुग्ने जोखिमसमेत रहेको स्थानीयको भनाइ छ।

गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले लमजुङ दरबार ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सम्पदा भएकाले पुनर्निर्माण छिटो सम्पन्न हुनुपर्ने बताए। “लमजुङ दरबार धार्मिक आस्थाको केन्द्रसँगै ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थल हो । निर्माण कार्य लामो समयसम्म लम्बिदा यहाँ आउने पर्यटक तथा दर्शनार्थीलाई समेत असहज भएको छ। आवश्यक बजेटको व्यवस्था गरी पुनर्निर्माण छिट्टै सम्पन्न गर्न सके दरबारको आकर्षण अझ बढ्ने थियो”, उनले भने।

उनका अनुसार शाहवंशीय इतिहाससँग जोडिएको यस दरबारको पुनर्निर्माण सम्पन्न भएपछि स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। शाहवंशीय राज्यकालको उद्गमस्थल मानिने लमजुङ दरबार जिल्लाको महत्वपूर्ण ऐतिहासिक सम्पदामध्ये एक हो।

दरबार परिसरमा रहेको कालिका मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ । चैते दसैँ र फूलपातीका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । बेँसीसहर बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको लमजुङ दरबार पुरानै शैली र स्वरुपमा पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माण समयमै सम्पन्न गर्न सके ऐतिहासिक सम्पदा संरक्षणसँगै धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।