काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गरे।
उनले भने, “आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो। आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ।”
भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराएको सभामुख अर्यालले बताए। “साहित्य केवल विद्वान्का लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो भनी भानुभक्तले सिद्ध गर्नुभयो, आदिकविको लेखनीले नेपाली भाषालाई घरघरमा पुर्यायो, जनजनमा चेतना जगायो, हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो। नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ।भानुभक्तले रामायण दिनुभयो। रामायणसहित नेपाली साहित्यले महाकाव्य पायो। त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ”, उनले भने।
भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उनको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेकामा सभामुख अर्यालले जोड दिए। आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको उनले बताए।