काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
बायाँबाट क्रमश: टोपबहादुर रायमाझी‚ बालकृष्ण खाँड‚ टेकनारायण पाण्डे र टेकनाथ रिजाल।
अ+
अ-

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार कसुर सजाय निर्धारणको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा सातजनालाई सफाइसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई राज्यविरुद्धको कसुर र एकीकृत कसुरतर्फ दोषी ठहर गरिसकेको छ।

सजायका लागि २९ असारका लागि समय तोकिएको थियो। कसुर सजाय निर्धारणका लागि सुनुवाइ नसकिँदा मंगलबारका लागि हेर्दाहेर्दैमा रहेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

अदालतको फैसलाअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनामध्ये आरोपितहरूमध्ये १५ जनालाई दोषी ठहर, सात जनालाई सफाइ र आठ जनाको मुद्दा मुल्तबीमा राखिएको छ। दोषी ठहर गरिएकामध्ये नौ जनालाई मुख्य कसुरदार र ६ जनालाई मतियारका रूपमा दोषी ठहर्‍याइएको छ।

फैसलाको पूर्ण पाठ आएपछि मात्रै दोषी ठहर भएकाहरूले आफूलाई कसुर ठहर गरेको विषयमा चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन निवदेन गर्न पाउनेछन्। फैसला चित्त नबुझेमा उच्च हुँदै सर्वोच्च अदालत जान पाउने अधिकार सुनिश्चित छँदै छ।