काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग र उदयपुरको कटारी खण्डस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। मेची राजमार्गमा भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ।
बागमती प्रदेशमा बाढी र पहिरोको प्रभाव सबैभन्दा बढी देखिएको छ। मकवानपुरको भीमफेदी तथा हेटौँडा–ठिङ्गन खण्डमा पर्ने कान्ति लोकपथका दुई स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी खण्डस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ। साथै, सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रे खण्डको बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो गएकाले सडक एकतर्फी सञ्चालनमा रहेको छ।
गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडक र बागलुङको मध्य पहाडी लोकमार्गमा पहिरोका कारण सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्। त्यस्तै, कर्णाली प्रदेशको जाजरकोट–डोल्पा सडक खण्ड पनि पहिरोका कारण एकतर्फी सञ्चालनमा सीमित भएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।