काठमाडौं। खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०८३/८४ का लागि खानी खोजतलास तथा उत्खनन इजाजतपत्र नवीकरण गर्न तीन महिनाभित्र आवेदन दिनुपर्ने व्यवस्था लागू गरेको छ। विभागले खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अनुसार सम्बन्धित सबै इजाजतपत्रधारीलाई समयमै नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।
विभागका अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र इजाजतपत्र नवीकरण नगरे कानुनी प्रक्रियाअनुसार समस्या उत्पन्न हुन सक्ने भएकाले तोकिएको अवधिमै आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।
खोजतलास इजाजतपत्र नवीकरणका लागि सक्कल इजाजतपत्र, प्रगति विवरण, स्वीकृत कार्ययोजनाअनुसारको फोटो तथा नक्सासहितको प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्र, साथै नवीकरण दस्तुर र भू–बहाल रकम बुझाएको बैंक भौचर अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
यस्तै, उत्खनन इजाजतपत्र नवीकरणका लागि निवेदनसँगै कम्पनी अद्यावधिक रहेको प्रमाण, उत्खनन कार्यको विस्तृत विवरण, कारोबार तथा आय–व्ययको विवरण, खानीमा कार्यरत कामदार तथा कर्मचारीको जीवन बिमा गरेको अभिलेख, स्थानीय विकास शुल्क तिरेको प्रमाण, वातावरणीय सेवा शुल्क र वातावरणीय समीक्षा प्रतिवेदन पनि संलग्न गर्नुपर्ने विभागले जनाएको छ।
विभागका अनुसार तोकिएको नवीकरण दस्तुर वा भू–बहाल रकम नबुझाए वा अपुग दाखिला गरे इजाजतपत्र नवीकरण नहुने स्पष्ट गरिएको छ। साथै, आवेदन दिँदा कम्पनीको साविक र हालको ठेगाना, सम्पर्क नम्बर तथा इमेल ठेगाना स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।