काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

१ श्रावण २०८३
अर्थमन्त्री स्वर्णिम वाग्ले।
अ+
अ-

काठमाडौं । नयाँ सरकार गठन भएपछि सेयरबजारमा देखिएको निरन्तर गिरावटप्रति लगानीकर्तामा बढ्दो असन्तुष्टि र आक्रोशलाई स्वाभाविक मान्दै अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले लगानीकर्तालाई धैर्य गर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

शुक्रबार बिहान जारी गरिएको सन्देशमा सचिवालयले सेयरबजारलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएको छ। पर्याप्त तरलता, घट्दो ब्याजदर तथा लगानी र सरकारी खर्च बढाउने नीतिहरूले बजार सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सचिवालयले स्थिर सरकार, विज्ञ नेतृत्व र नियामक निकायमा पारदर्शी व्यवस्थापनका कारण सेयरबजार सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेको दाबी गरेको छ।

साथै, बजारबारे विभिन्न माध्यमबाट फैलाइने नकारात्मक हल्ला र भ्रामक सूचनाप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरिएको छ। केही व्यक्तिहरूले गलत भाष्य निर्माण गरेर अनावश्यक त्रास फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै सरकारले तथ्य, प्रक्रिया र आधिकारिक निर्णयका आधारमा काम गरिरहेको स्पष्ट पारेको छ।

‘सेयरबजारसम्बन्धी सूचना क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूहजस्ता अनौपचारिक माध्यमबाट नभई सम्बन्धित सरकारी निकायबाट मात्रै लिनुहोस्,’ सचिवालयले अपिल गरेको छ।