धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालै भर्ना भएका नयाँ विद्यार्थीलाई बायोइथिक्स (जैवनीति) बारे अभिमुखीकरण गराइएको छ।
यस वर्ष सन् २०२६ मा प्रतिष्ठानमा एमबीबीएस, बीडीएस, नर्सिङ, एमडी, एमएसलगायत कक्षामा भर्ना भएका विद्यार्थीलाई बायोइथिक्स नेपाल एकाइका हेड तथा मानसिक रोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले सहभागीलाई विद्यार्थीकालदेखि नै जैवनीति र सिद्धान्तबारे सुसूचित भएर तिनलाई अवलम्बन गर्दा यस क्षेत्रमा सफल हुन सकिने दृष्तान्त प्रस्तुत गरे।
कार्यक्रममा बायोइथिक्स नेपाल एकाइका सदस्य डा. अशोक ऐरले चिकित्सा पेसामा हानि न्यूनीकरण, लाभ, मानवमूल्य तथा न्यायजस्ता आवश्यक नीतिहरू र जैवनीतिबारे प्रकाश पारे।
बायोइथिक्स नेपाल एकाइ र विद्यार्थी संकायले स्वास्थ्य र चिकित्सकीय पेसामा शैक्षिक, सेवा र अनुसन्धानलगायत काममा विद्यार्थीहरूलाई सघाउन सन् २०१४ देखि नै यस्तो कार्यक्रम हरेक वर्ष गर्दै आएको प्रा.डा. शाक्यले बताए। त्यस्तै सन् २०१६ देखि हरेक वर्ष विश्व बायोइथिक्स दिवस मनाउँदै आएको उनले जानकारी दिए।
यस वर्ष सन् २०२६ मा पनि ‘शान्तिका लागि बायोइथिक्स’ नारासहित कविता, निबन्ध, आर्टपोस्टर, अनुसन्धान पोस्टरसहित सिर्जनशील कार्यक्रम गरिने उनले जानकारी दिए।