जाकार्ता। पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुंगाका पाँच यात्रुलाई तीन दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन्।
सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुंगा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो। उद्धार गरिएका यात्रुले आफूहरू सुरुमा हराइरहेको भनिएको २५ जनाको समूहमा रहेको बताएका छन्।
तर तीव्र हावाका कारण उनीहरू अन्य यात्रुबाट छुट्टिएका थिए। स्थानीय खोज तथा उद्धार अधिकारी मुहम्मद आरिफ अनवरका अनुसार डुंगा डुबेपछि उनीहरूले तैरिन सकिने सामग्रीको सहायताले आफूलाई बचाएका थिए। “उनीहरूले प्लास्टिकका ठूला डिब्बा (जेरी क्यान) र कर्कका टुक्रालाई डोरीले बाँधेर अस्थायी तैरिने साधन बनाए र त्यसैमा बसे,” उनले बताए।
शनिबार दिउँसो स्थानीय माछा मार्नेहरूले उनीहरूलाई उद्धार गरी रेडियोमार्फत अधिकारीलाई जानकारी गराएका थिए। धेरै दिनसम्म पर्याप्त खाना र पानीबिना समुद्रमा रहनुपरेकाले उनीहरू कमजोर र थकित अवस्थामा भेटिएका थिए।
यद्यपि, इन्स्ट्यान्ट चाउचाउ र बिस्कुट खाएर आफूलाई जीवित राख्न सफल भएको आरिफले बताए। हराइरहेका अन्य यात्रुको खोजी जारी रहेको छ। खोजी अभियानमा पाँचवटा ठूला जहाज, एउटा निगरानी विमान र एउटा हेलिकप्टर परिचालन गरिएको छ।
उद्धार अधिकारीका अनुसार डुंगाको आधिकारिक यात्रु सूचीमा ५० जनाको नाम भए पनि थप अनुसन्धानपछि डुंगामा ७८ जना सवार रहेको खुलेको छ।
इन्डोनेसियामा डुंगाको आधिकारिक यात्रु विवरण र वास्तविक यात्रुको सङ्ख्याबीच फरक पर्नु सामान्य मानिन्छ। कमजोर सुरक्षा मापदण्ड र खराब मौसमका कारण यहाँ जलयात्रासम्बन्धी दुर्घटना भइरहन्छन्। यसअघि जनवरीमा पूर्वी इन्डोनेसियाको समुद्रमा डुंगा दुर्घटना हुँदा तीन जना स्पेनी पर्यटकको मृत्यु भएको थियो भने एक बालक हराएका भएका थिए।