काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ। यस अवधिमा २६ वटा ईआईए प्रतिवेदन र ६ वटा पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन्।

नौ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका छन् भने सातवटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ । १५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन् । पाँच आयोजनाको म्याद थप गरिएको छ भने छ आयोजनालाई जरिबाना गरिएको छ।

ईआईए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना छन्। मन्त्रालयले एक वर्षको अवधिमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना र २७० मेगावाट क्षमताको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ईआईए स्वीकृत गरेको छ।

३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ९१.१५ मेगावाट क्षमताको बूढीगण्डकी नदी जलविद्युत् आयोजना तथा ३५ मेगावाट क्षमताको माथिल्लो अप्सुखोला जलविद्युत् आयोजनाको पनि ईआईए स्वीकृत भएको छ।

मन्त्रालयका अनुसार ८८ मेगावाट क्षमताको रोल्वालिङ, ३० मेगावाट क्षमताको माथिल्लो दूधखोला जलविद्युत् आयोजना तथा ३४.३९ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत् आयोजनाको पनि ईआईए स्वीकृत भएको छ।

पूरक ईआईए स्वीकृत भएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन्। तीमध्ये सङ्खुवा खोला जलविद्युत् आयोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना र मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना छन्।

परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनामध्ये पनि जलविद्युत् आयोजनाको संख्या बढी छ । तीमध्ये सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, रोल्वालिङ खोला, बलेफी खोला तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना रहेका छन्।

विद्युत् प्रसारणलाइनतर्फ लप्सीफेदी–रातामाटे, रातामाटे–न्यू हेटौंडा, रातामाटे–न्यू दमौली, न्यू दमौली–न्यू बुटवल तथा न्यू बुटवल–नेपाल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारणलाइनका साथै रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएको छ।

यी प्रसारणलाइन र सबस्टेसन अमेरिकी सहयोग परियोजना एमसिए–नेपालमार्फत निर्माण भइरहेका छन्।

२०१ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि मन्त्रालयले स्वीकृत गरेको छ।

वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन्। त्यसमा रोल्वालिङ खोला, कालिका कालीगण्डकी, तमोर खोला–५, कालीगण्डकी गर्ज र मध्य तादी खोला जलविद्युत् आयोजना छन्। रासस