काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। मेडिकल कलेज प्रवेश परीक्षासहित विभिन्न राष्ट्रिय परीक्षामा भएका प्रश्नपत्र चुहावटका घटनाको विरोध गर्दै उनले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागसहित गत जुन २८ देखि अनशन सुरु गरेका थिए।
बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत वाङचुकले विभिन्न पक्षसँग भएको लामो छलफल र देशमा सम्भावित हिंसात्मक अवस्था रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले अनशन तोड्न सहमति जुटेका विषयहरूबारे भने छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने बताएका छन्।
वाङचुकको अनशन अन्त्य गर्ने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने प्रतिबद्धता जनाएपछि आएको हो।
प्रधानमन्त्री मोदीले भिडियो सन्देश जारी गर्दै प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिमाथि छिटो कारबाही गर्न फास्ट–ट्र्याक अदालतमार्फत प्रक्रिया अघि बढाउने कानुनी व्यवस्था ल्याउने तयारी भइरहेको बताएका छन्। यस विषयमा शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने उनको भनाइ थियो।
मोदीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नाम नलिए पनि प्रश्नपत्र चुहावटका घटनाले लाखौँ विद्यार्थीको भविष्य प्रभावित भएको स्वीकार गर्दै यसलाई गम्भीर अपराधका रूपमा लिने संकेत गरेका छन्।
मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावटपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए। त्यसपछि शिक्षामन्त्रीको राजीनामा माग गर्दै आन्दोलनरत युवा नेतृत्वको ककरोच जनता पार्टी (सीजेपी) लाई समर्थन गर्दै वाङचुक अनशनमा बसेका थिए। यद्यपि, नयाँ दिल्लीको जन्तर मन्तरसहित देशका विभिन्न स्थानमा सीजेपीको आन्दोलन जारी छ ।