९ श्रावण २०८३
अ+
अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक मूल्यको रक्षा गर्न संघर्षमा उत्रिनुपर्ने बताएका छन्।

नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे। उनले आन्दोलनलाई पुनर्जीवित गर्दै नयाँ ऊर्जा प्रदान गर्नु आजको आवश्यकता भएको बताए।

उनले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता अग्रज नेताहरूको योगदानको स्मरण केवल औपचारिकता नभई कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने र देशको नेतृत्व गर्ने नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि संकट देखिएको र कम्युनिस्ट आन्दोलन असाधारण अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै सबै कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताए।

देशमा देखापरेको निरंकुश प्रवृत्तिको प्रतिरोध गर्दै लोकतान्त्रिक मूल्य, राष्ट्रिय हित र स्वाधीनताको संरक्षणका लागि फेरि एकपटक संघर्षमा उत्रिनुपर्ने समय आएको उनको भनाइ थियो।

“देशमा राष्ट्रिय स्वाधीनतामाथि आएको संकट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण चुनौतीको सामना गर्ने, आन्दोलनलाई एकताबद्ध गर्ने र निरंकुश प्रवृत्तिविरुद्ध फेरि संघर्ष गर्ने दृढ अठोट गर्ने बेला आएको छ,” प्रचण्डले भने।