हुम्ला। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जिल्लाभरका लाभग्राहीको सूचीकरण र नवीकरणका लागि वडा कार्यालयमा घुइँचो लाग्ने गरेको छ। नयाँले सूचीकरण र पुरानाले नवीकरण गरेपछि मात्र सो सुविधा प्राप्त हुने भएकाले सो कार्य गर्न लाभग्राहीको वडा कार्यालयमा घुइँचो लाग्ने गरेको हो।
मन्त्रालयको परिपत्रअनुसार जिल्लाका सात वटै गाउँपालिकाले नयाँलाई सूचीकरण र पुरानालाई नवीकरण गर्न सार्वजनिक सूचना जारी गरेपछि वडा कार्यालयमा लाभग्राहीको घुइँचो लाग्ने गरेको छ।
लाभग्राही सामाजिक सुरक्षा नियमावली २०९२ को नियम ( ९) वमोजिम सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न असोज मसान्तसम्म समय सिमा मन्त्रालय दिएको छ। वडाहरुले साउन १ गतेबाट यो कार्य गर्न सुरु गरेका थिए। कोही पनि नछुटुन भनेर टोलटोलमा सूचना टाँस्ने र स्थानीय सञ्चार माध्यमबाट सूचना प्रशारण गर्ने कार्य गाउँपालिकाबाट भइरहेको छ।
यसका लागि लाभग्राही स्वयं उपस्थित भएर अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा जैविक पहिचान गराउनु पर्नेछ। त्यसैगरी लाभग्राहीले आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्ने कार्यका लागि वडामा आउने संख्या बढी रहेको अदानचुली गाउँपालिका– २ नम्बर वडा कार्यालयले जनाएको छ। दैनिक तीसदेखि चालीस जना लाभग्राही कार्यालयमा आउने गरेको वडा कार्यालयले जनाएको छ।
यो कार्य जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटै वडा कार्यालयमा धमाधम भइरहेको गाउँपालिकाले जनाएका छन्। यो कार्य हरेक वर्ष गर्नुपर्ने हुन्छ। यसका लागि साठी वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपांग, अति असक्त अपाङ्ग, क्षेत्र तोकिएका बालबालिका र दलित बालबालिकाले यो सुविधा पाउँदै आएका छन्। सामाजिक सुरक्षा भत्ताको सुविधा लिने जिल्लाभरका लाभग्राहीको संख्या चौध हजारभन्दा बढी छ।