काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ। वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध जारी छ। सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नम्बर २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ।

त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएका छन्।