काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

बुटवल। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।

कांग्रेसका पाँचै मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्।

कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन्।

दलका तर्फबाट भने भोलि (सोमबार) मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाउने तयारी रहेको कांग्रेस प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्। उनका अनुसार कांग्रेसबाट सरकारमा सहभागी पाँचजनाकै राजीनामा दलको कार्यालयमा प्राप्त भइसकेकाले सोमबार मुख्यमन्त्रीलाई बुझाइनेछ।

लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार थियो। सरकारबाट २७ सदस्यसहितको कांग्रेस बाहिँरिदा १३ सदस्य रहेको नेकपा सरकारमा भित्रिएको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन्। तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका दुई, राप्रपाका चार, जनमत पार्टीका तीन, लोसपाका दुई तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक-एक सांसद छन्। सरकार बनाउन एमाले र नेकपाले साना दल या स्वतन्त्र मध्य कुनै एकलाई लिनैपर्ने बाध्यता छ।

मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा आउने जानकारी आएपछि पछिल्लो केन्द्रको समीकरणअनुसार सरकार पुनर्गठनका लागि छलफल सुरु भएको बताए।

उनले सरकारमै रहेको लोसपालाई पनि साथमै राखेर अघि बढ्ने तयारी भएको बताए। एक-दुई दिनमै केन्द्रको निर्देशनअनुसार सरकार विस्तार गर्ने गरी प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।