चितवन। चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातिका चराको गुँड गणना गरिएको छ। गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुँड भेटिएका छन्।
नेपाल पन्छीविद् संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घुँङ्गीफोर गरुडका ४३३ गुँड भेटिएका छन्। यस्तै कुमाल तालमा भेटिएका सबै गुँड घुँङ्गीफोर गरुडका छन्।
उनका अनुसार बाटुली पोखरीमा पानीको सतहभन्दा तीन मिटरमाथि देखि ३० मिटर माथिसम्म गुँड भेटिएका हुन्। उनले भने‚ “बाटुली पोखरीमा रहेका ९७ वटा रुखमा गरिएको गणनामा ती गुँड देखिएका हुन्।”
भरतपुर महानगरपालिका १३ मा रहेको बाटुली पोखरीमा गुँड गणनाका लागि वर्ड एजुकेसन सोसाइटी, नेपाल पन्छीविद् संघ र नेचर गाइड एसोसिएसनका ४२ जना परिचालन गरिएको थियो। पोखरीलाई चार ब्लकमा विभाजन गरेर गुँड गणना गरिएको उनले जानकारी दिए। एउटा ब्लकमा १० देखि १२ जनाका दरले परिचालन गरी शनिबार गणना गरिएको हो।
पोखरीमा ४३३ वटा गुँड फेला परेपछि पोखरी गरुड प्रजातिको महत्त्वपूर्ण प्रजननस्थलका रूपमा पुष्टि गरिएको उनले बताए। बाटुली पोखरी बरन्डाभार जैविक मार्ग, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तर्राष्ट्रिय महत्त्वको बिसहजारी तथा आसपासका तालहरू (रामसार क्षेत्र) अन्तर्गत पर्छन्। घुँङ्गीफोर बचेरा कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रूपमा कोरलेर हुर्काउने गर्छन्।
बाटुली पोखरीमा विगत चार वर्षदेखि यी चराहरूले गुँड लगाएर बच्चा हुर्काउँदै आएको उनले बताए। नेपालमा ९०२ प्रजातिका चरा पाइने गरेकामा चितवनमा ६६७ प्रजाति रहेको तथ्यांक छ।