काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र व्हाट्सएप समूहमा सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल विहेवियर’ विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सार्वजनिक भएको थियो । घटनाबारे अनुसन्धान गर्ने क्रममा सिंहलाई मध्यपुर थिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा सञ्चालन भइरहेकाले प्रश्नपत्र चुहावट वा गोपनीयता भंग हुने कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

सीआईबीले परीक्षा सम्बन्धी गोप्य सामग्री चुहाउने, सार्वजनिक गर्ने वा त्यस्ता गतिविधिमा सहयोग गर्ने कार्य कानुनविपरीत रहेको भन्दै संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।