काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

विराटनगर । मोरङको रंगेलीमा एक बालिकालाई दुई दिनसम्म लगातार विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी र सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मोरङ रंगेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ बस्ने २१ वर्षीय सुमन कुमार साह (क्याफे सञ्चालक), रंगेली–७ का २० वर्षीय करण मण्डल, सोही ठाउँका १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन् ।

दुई दिनसम्म दुई फरक क्याफेमा बलात्कार

प्रहरीका अनुसार घटनाको सिलसिला साउन ३ गतेबाट सुरु भएको थियो । साउन ३ गते बिहान ९ बजेतिर मोहम्मद अरमानले सुनवर्षीकी ती बालिकालाई फकाई–फुल्याई रंगेली–७ स्थित युमी क्याफे मा पुर्‍याएका थिए । त्यहाँ अरमान र सोही क्याफेका सञ्चालक सुमन कुमार साहले बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसको भोलिपल्ट अर्थात् साउन ४ गते राति ९ बजेतिर पुनः करण मण्डलले ती बालिकालाई रंगेली–७ स्थित संसारी मन्दिर छेउमा रहेको क्याफेमा पुर्‍याएका थिए । त्यहाँ करण मण्डल, प्रियान्सु साह र रितिक यादवले मिलेर बालिकालाई सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ।

बालिकामाथि लगातार बलात्कार भएको उजुरी परेपछि जिल्ला र इलाका प्रहरीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो। प्रहरीले साउन १० गते अपराह्न ४ : १० बजे घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिन सफल भएको हो।

मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा प्रयोग गरिएका स्थान र संलग्न व्यक्तिहरूको सम्बन्धमा अन्य सूक्ष्म प्रमाणहरू पनि संकलन गरिरहेको जनाएको छ। बालिकाको स्वास्थ्य परीक्षण र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।