काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धका क्रममा अमेरिकाको गोलाबारुद र हतियारको भण्डार सकिँदै गएको भन्ने समाचारको खण्डन गरेका छन्।
द वाल स्ट्रिट जर्नलसँग ट्रम्पले भने, “हामीसँग विश्वका जुनसुकै देशभन्दा धेरै र हाम्रो आवश्यकताभन्दा निकै बढी गोलाबारुद छ।”
यसअघि द वाल स्ट्रिट जर्नलले जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले ह्वाइट हाउसलाई अमेरिकी वायु रक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलहरूको भण्डार घट्दै गएको जानकारी गराएको जनाएको थियो।
यसैबीच, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानको ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणको संकेत दिने एआईबाट सिर्जित धेरै तस्बिरहरू सार्वजनिक गरेका छन् ।
तीमध्ये एउटा तस्बिरमा युद्धक विमानहरूले एउटा तेल प्रशोधन केन्द्रमा बमबारी गरिरहेको दृश्य देखाइएको छ, जसको क्याप्सन स्टाइक अन खर्ग (खार्गमा आक्रमण) राखिएको छ । यसले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुलाई संकेत गरेको मानिएको छ ।
त्यसपछि ट्रम्पले इट्स आवर ओयल ट्यांकर नाउ ! (अब यो हाम्रो तेल ट्यांकर हो !) शीर्षकसहित एआई–निर्मित थप तस्बिरहरू क्रमिक रूपमा पोस्ट गरेका छन् ।
ती तस्बिरहरूमा ट्रम्पलाई इरानीजस्तो देखिने एउटा तेल ट्यांकरमा अमेरिकी झण्डा समातेको अवस्थामा देखाइएको छ । केही तस्बिरमा अमेरिकी सैनिकहरू पनि छन् भने अर्कोमा सैनिकहरूसँगै इरानी धार्मिक नेताहरूको चित्रसमेत समावेश छ ।
यसपछि ट्रम्पले नो मोर इन्जिन (अब कुनै इन्जिन रहने छैनन्) शीर्षकसहित अर्को एआई–निर्मित तस्बिर सार्वजनिक गरेका छन्, जसमा एउटा इरानी जहाज विस्फोटपछि ध्वस्त भइरहेको दृश्य देखाइएको छ । टाइम्स अफ इजरायल