धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटार स्थित तमोर–करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्रकको अगाडिको भागमा लागेको आगोमा परी चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको छ।
दुर्घटनामा ट्रकका सहचालक जिल्ला तेह्रथुम, म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्ग्रौलाले भने सकुशल रहेका छन्। दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।