काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या योजना एक नाबालकबाटै बनेको प्रहरीले जनाएको छ। ती नाबालकको नाम गोलबजार-पी दिइएको छ। उनले आफ्ना साथी अमित यादवसँग घटनाको योजना बनाएको खुलेको छ। अमित र गोलबजारले अन्य चार जनाको सहयोग लिएर अपहरणपछि हत्या गरेको सिरहा प्रहरीले जनाएको छ।

आर्थिक लाभ लिने उद्देश्य राखेर बालकको हत्या गरिएको देखिएको छ। बालकलाई अपहरण गरेकै राति हत्या गरी अपहरणकारीहरूले भोलिपल्ट पाँच करोड रुपैयाँ फिरौती मागेका थिए। “पैसाप्रतिको मोहमा परेर एक किशोर आफैँ हत्या-अपहरणको योजनाकार बन्नु समाजका लागि ठूलो चेतावनी हो,” सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्रकुमार यादव भन्छन्।

यसरी भयो अपहरण र हत्या

५ असोज २०८२ को राति करिब ८ बजेको थियो। गोलबजार नगरपालिका-१३ डंगराहास्थित आफ्नै घरअगाडि शौच गर्न निस्किएका १६ वर्षीय अभिषेककुमार सिंह घर फर्किएनन्।

परिवार र छरछिमेकीले रातदेखि नै खोजी गरे। तर, कुनै संकेत फेला परेन। आफन्त र छिमेकीले खोजी गर्दा नभेटेपछि मामा नरेश महतोले भोलिपल्ट असोज ६ गते दिउँसो इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा निवेदन दिए।

सूचना अधिकारी यादवका अनुसार निवेदन परेपछि प्रहरी टोलीले खोजतलास र सोधपुछ सुरु गर्‍यो। त्यस सिलसिलामा ७ असोजको बिहान करिब ६ बजे अभिषेकको शव घरबाट २०० मिटर दक्षिण-पूर्व श्री अर्जुन आधारभूत विद्यालयअगाडिको सार्वजनिक बाटोमा भेटियो। अर्धनग्न र दुर्गन्धित शव शंकास्पद अवस्थामा फेला परेको थियो।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षकसहितको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुरसहितको टोली परिचालन भएको थियो। प्रमाण संकलनका क्रममा प्रहरीले आठ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

तीमध्येका गोलबजार-पीले साथी अमित यादवसँग मिलेर अभिषेकलाई अपहरण गरी फिरौती माग्ने र त्यसै क्रममा हत्या गर्ने योजना बनाएको खुलासा गरेका छन्। “अपहरणकारीहरूले घर अगाडिको आँपको बगैँचामा अभिषेकलाई बोलाएर लगे र त्यहाँ पहिलेदेखि खाल्डो खनेर राखेको प्लास्टिकको ड्रममा बन्दी बनाए,” ती नाबालकको बयान उद्धृत गर्दै प्रहरी निरीक्षक यादव भन्छन्।

गोलबजारको बयानअनुसार दुई जना मिलेर सुरुमा सिल्भर रङको डोरीले अभिषेकको हात बाँधियो। गम्छाले मुख छोपियो। त्यसपछि दुवै हात तथा डोरीले घाँटीमा जोडले थिचेर उनको हत्या गरी शवलाई ड्रमभित्र राखियो। अपहरणकारीहरूले ड्रमको मुखमा टायलले छोपे। आफ्नो र मृतकको मोबाइल बन्द गरे।

हत्यापछि पाँच करोड फिरौती

६ असोज बिहान ८:२१ बजे मृतककी आमाले प्रयोग गर्ने मोबाइलमा हिन्दी भाषामा पाँच करोड रुपैयाँको फिरौती मागिएको थियो। प्रहरी निरीक्षक यादवका अनुसार घटना फिरौतीका लागि नै गराइएको पुष्टि हुन्छ।

गाउँमा प्रहरीको चहलपहल बढ्दै गएपछि अपहरणकारीहरू डराए। उनीहरूले ७ गते राति करिब २ बजे ड्रमबाट शव निकालेर सडकमा फाले। अपहरण तथा हत्यामा  प्रयोग भएका मोबाइलहरू फरक फरक स्थानमा फाल्दै प्रमाण नष्ट गर्ने कोसस गरे।

तर, प्रहरीको फन्दाबाट जोगिन सकेनन्। पक्राउ परेका आरोपीले दिएको लोकेसनका आधारमा प्रहरीले प्रयोग भएका मोबाइल फोन र अन्य सम्भावित प्रमाण बरामद गरेको छ। बरामद भएको मोबाइल फोनमध्ये मृतकले चलाउने वानप्लस मोबाइल खेतमा फेला परेको छ।

पक्राउ परेका सबै जनालाई कर्तव्य ज्यानमुद्दा तथा अपहरण मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।