काठमाडौं। विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । यस कुराको पुष्टी बिहीबार उनले जारी गरेको विज्ञप्तीबाट भएको हो ।
अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान मेसी १४ वर्षपछि भारत भ्रमणमा निस्किन लागेका हुन् । उनी १३ डिसेम्बरमा कोलकाता पुग्ने छन् । भारतमा उनले चार वटा शहरको भ्रमण गर्नेछन् । जसमा अहमदाबाद, मुम्बई र दिल्लीको कार्यक्रम तय छ ।
१५ डिसेम्बरमा उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम राखिएको छ । भारत भ्रमणमा उनले केही कन्सर्ट, भेटघाट कार्यक्रम, फुड फेस्टिभल, फुटबल मास्टरक्लास र मुम्बईको बे्रबोर्न रंगशालाको एउटा प्रदर्शनीमा भाग लिने छन् ।
पहिले उनको कार्यक्रम १५ अगस्टमा तय गरिएको थियो । तर, विभिन्न कारणले त्यो रद्द भयो । अहिले उनले नै आफ्नो घोषित कार्यक्रमको विषयमा जानकारी दिँदै भनेका छन्, ‘भारतको भ्रमण गर्नु मेरो लागि सम्मानको कुरा हो । भारत एउटा विशेष देश हो, जहाँ १४ वर्षअघिको राम्रो छाप मेरो दिमागमा छ ।’
कोलकातामा हुने कार्यक्रम साल्टलेक सिटीमा तय गरिएको छ । जहाँ जीओएटी कन्सर्ट र जीओएटी कपमा उनको उपस्थिति हुनेछ । जीओएटी कपमा पूर्वक्रिकेट कप्तान सौरभ गांगुली, पूर्वफुटबल स्टार भाइचुङ भुटिया र पूर्वटेनिस स्टार लियन्डर पेस जस्ता खेलाडी पनि उपस्थित हुनेछन् ।
दुर्गा पुजाको अवसर पारेर कोलकातामा २५ फिट अग्लो भित्ते चित्र र मेसीको अहिलेसम्मकै सबैभन्दा अग्लो मूर्ति अनावरण गर्ने कार्यक्रम पनि छ । यसका लागि टिकटको मूल्य ३५ सय रुपैयाँ राखिएको छ । मेसी २०११ मा भेनेजुएलाविरूद्ध मैत्रीपूर्ण खेल खेल्न साल्टलेक सिटीमा उपस्थित भएका थिए ।
कार्यक्रमका प्रमोटर शतद्रु दत्ताका अनुसार यस अवसरमा अर्जेन्टिना र भारतको संस्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ ।