काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को ‘थिङ ट्याक’ मानिने राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतले जनताबाट टाढा बस्ने र जनताको चिन्तालाई नजरअन्दाज गर्ने सरकारले क्रोधको सामना गर्नुपर्ने बताएका छन् ।
नेपालमा हालै भएको जेन–जी प्रदर्शनमा राजनीतिक पार्टीहरूले भोग्नु परेको अवस्थाको विश्लेषण गर्दै उनले आफ्नो सरकारलाई पनि सर्र्तक रहन आग्रह गरेका छन् ।
आरएसएस स्थापनाको सय वर्ष पूरा भएको अवसरमा विजयादशमीको शुभकामना आदान–प्रदान गर्ने क्रममा उनले भने, ‘भारतमा अशान्ति सिर्जना गर्ने शक्तिहरू देशभित्र र बाहिर दुवैतर्फ सक्रिय छन् । श्रीलंका, बंगलादेश र हालसालै नेपालमा शासन परिवर्तनका लागि भएको हिंसात्मक जनआक्रोश हाम्रो लागि चिन्ताको विषय हो, जब सरकार जनताबाट टाढा रहन्छ र उनीहरूको समस्याबाट धेरै हदसम्म अनभिज्ञ हुन्छ र नीतिहरू उनीहरूको हितमा बनाइँदैनन्, मानिसहरू सरकारको विरुद्ध उठ्छन् ।’
उनले पछिल्ला तीन वर्षयता भारतको छिमेकमा परिवर्तनहरू देखिएको तर ती सबै युवाहरूको नेतृत्वमा हिंसात्मक ढंगबाट भएकोमा चिन्ता व्यक्त गरे । आर्थिक संकटको बीच श्रीलंकामा भएको आन्दोलनले २०२२ मा राजपक्षेको शक्तिशाली नेतृत्वको पतन भयो । बंगलादेशमा पनि विद्यार्थी आन्दोलनले शेख हसिनालाई पदच्युत गर्न बाध्य बनायो।
यस्तै अशान्त देखिने भ्रष्टाचार विरोधी जेन–जी विरोधले केपी शर्मा ओलीको शक्तिशाली सरकार पतन भयो । सरकार जनमुखी र संवेदनशील हुनुपर्ने कुरामा भागवतले जोड दिए पनि हिंसात्मक विरोधले कसैलाई फाइदा नगर्ने बताए ।
उनको भनाई थियो– लोकतान्त्रिक माध्यमबाट परिवर्तन ल्याउन सकिन्छ । ‘हामीले अहिलेसम्मका सबै राजनीतिक क्रान्तिको इतिहास हेर्यौं भने तीमध्ये कुनैले पनि आफ्नो उद्देश्य हासिल गर्न सकेका छैनन् ।
सबै क्रान्तिले अग्रगामी राष्ट्रहरूलाई पूँजीवादी राष्ट्रमा परिणत गरेका छन्,’ भागवतले भने, ‘हिंसात्मक विरोध प्रदर्शनमा कुनै पनि उद्देश्य प्राप्त हुँदैन तर देशबाहिर बसेका शक्तिहरूले आफ्नो खेल खेल्ने प्लेटफर्म पाउँछन् ।