काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत भियतनामविरुद्ध हुने दुई खेलका लागि पुरानै अनुहारलाई निरन्तरता दिएका छन्।

आइतबार सार्वजनिक गरिएको टोलीमा पछिल्लो पटक हङकङविरुद्ध खेलेका खेलाडी नै समावेश छन्। नेपाली टोलीमा कप्तान किरणकुमार लिम्बू, विशाल सुनार र दीप कार्कीले गोलपोस्ट सम्हाल्ने छन्। रक्षात्मक पंक्तिमा अनन्त तामाङ, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, अभिषेक लिम्बू, सनीश श्रेष्ठ, रोहित चन्द र विमल पाण्डे छन्।

मणीकुमार लामा, एरिक विष्ट, लाकेन लिम्बू, कृतिशरत्न छुन्जु, योगेश गुरुङ, रोहन कार्की, मनिष डाँगी, कुशल देउवा र आयुष घलानले मिडफिल्ड सम्हाल्ने छन्।

जेलेस्पीजंघ कार्की, सुवास ठाकुरी बम, अन्जन विष्ट र दिनेश हेन्जनले आक्रमणको जिम्मेवारी पाएका छन्।

छनोटअन्तर्गत नेपालले भियतनामसँग दुई खेल खेल्नेछ। पहिलो खेल अक्टोबर ९ मा बिन दुंग रंगशाला हुनेछ भने दोस्रो खेल अक्टोबर १४ मा हो ची मिन्ह सिटीको थों न्हाट रंगशालामा हुनेछ।

नेपालले दोस्रो खेल घरेलु मैदानमा खेल्ने अवसर पाएको थियो। तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला प्राविधिक रूपमा अयोग्य ठहरिएपछि नेपालले ‘होम गेम’ विदेशी मैदानमै खेल्नुपर्ने भएको हो।

नेपाल रहेको समूह ‘एफ’मा मलेसिया, भियतनाम र लाओस छन्। दुई खेल खेलिसक्दा नेपाल अंकविहीन रहँदै पुछार छ।

भियतनामविरुद्धका यी दुई खेल नेपालका लागि पुनरागमनको अवसर बन्न सक्नेछन्। त्यसैले प्रशिक्षक रसले स्थायित्व र टोली संयोजनमा निरन्तरता मार्फत सुधारको संकेत दिएका छन्।