काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० आश्विन २०८२
जेन-जी आन्दोलनको क्रममा नेपाल आमालाई माया गर्नुस् भन्दै प्रहरीसँग विवाद गरिरहेका यमबहादुर कडेल।
अ+
अ-

धादिङ। धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ थापाकटेरीमा छोराले आमाको बीभत्स हत्या गरेका छन्।

आइतबार राति ८ बजे घरमा बसिरहेका बेला जिरे भनेर चिनिने यमबहादुर कँडेलले  धारिलो हतियार प्रहार गरी ६३ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए। उनका अनुसार राति यमबहादुरले लागुपदार्थ सेवन गरेर आमाको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।

धादिङ, त्रिपुरासुन्दरी-५ स्थित मृतक राममाया कँडेलको घर।

घटनाको खबर गाउँमा फैलिएपछि जिल्ला प्रहरी कार्यालय, सल्यानटार र सल्यानकोट इलाका प्रहरीको टोली राति ९ बजे नै स्थानीय जनप्रतिनिधिसहित घटनास्थल पुगेको थियो। प्रहरी घटनास्थल पुग्दा यमबहादुर काँधमा हतियार राखेर ७७ वर्षीय  बुबालाई कसैलाई फोन नगर्न र घटना लुकाउन धम्की दिइरहेका थिए।

प्रहरीले उनलाई पक्राउ गरी राममायाको शव बिहान ४ बजे जिल्ला अस्पताल ल्याएको थियो। “हत्याको कारण थप अनुसन्धानपछि मात्रै खुल्नेछ,” जिल्ला प्रहरी प्रमुख रिजालले भने।

तीन दाजुभाइमा कान्छा ३० वर्षीय यमबहादुरले लामो समयदेखि लागुपदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ। पोर्चुगल र फिनल्यान्डमा रहेका अरू छोराहरू आएपछि मात्र उनको अन्तिम संस्कार गरिने त्रिपुरासुन्दरी- ५ का वडाध्यक्ष कुशबहादुर सिटौलाले बताए।

गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा समेत सहभागी यमबहादुरले प्रदर्शनका क्रममा प्रहरीसँग भनाभन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। त्यसबेला उनले प्रहरीलाई आफ्ना आमाबुबा र देशको बारेमा चिन्ता गर्नू भन्दै विवाद गरेका थिए। तर, उनै कँडेलले आफ्नै आमाको हत्या गरे।

जिरे भनेर चिनिने यमबहादुर कँडेल।

सिटौलाका अनुसार घटनास्थल पुगेका प्रहरीलाई पनि यमबहादुरले आक्रमणको प्रयास गरेका थिए। आमाको हत्या गरेपछि यमबहादुरले १२ वर्षीय भान्जालाई आक्रमण प्रयास गरे। तर, भान्जा भाग्न सफल भए। त्यसपछि बुबालाई पनि हतियार प्रहार गर्न खोजे।

वडाध्यक्ष सिटौलाका अनुसार आमाको हत्या गरेपछि बुबालाई ‘मैले ठीक गरेँ नि होइन’ भनेर सोधेपछि बुबाले ‘हो’ भनेर ज्यान जोगाएका  थिए।

अन्य समय काठमाडौँमा बस्ने यमबहादुर फूलपातीमा घर गएका थिए। परिवारसँग उनको केही दिनअघि पनि झगडा परेको छिमेकीले प्रहरीलाई बताएका छन्।

गाउँकै महिलालाई पनि हतियार प्रहार

आपराधिक समूहमा आबद्ध भएकाले बेलाबेला गाउँमा यमबहादुरको झगडा परिरहन्थ्यो।

वडाध्यक्ष सिटौलाका अनुसार २०६९ सालमै ‘ग्याङफाइट’ का क्रममा यमबहादुरले अर्को समूहको व्यक्तिलाई धारिलो हतियार प्रहारको प्रयास गरे। तर ती व्यक्ति भागेपछि घरमै गएर उनकै आमालाई हतियार प्रहार गरे। ती महिलाको पेटमा गम्भीर चोट लागेको थियो।

धादिङ, त्रिपुरासुन्दरी-५ स्थित मृतक राममाया कँडेलको घर।

त्यतिबेला पनि यमबहादुर पक्राउ परेका थिए। उनको समूहका व्यक्तिहरू अहिले पनि धादिङ, नुवाकोट र रसुवाका कारागारमा छन्।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हिरासतबाट छुटेको केही समयपछि काठमाडौँ आएका यमबहादुर आपराधिक कार्यमा संलग्न भएको आरोपमा काठमाडौँमै पनि पटक पटक पक्राउ परेका थिए।

यसअघि उनले नख्खु कारागारमा बसेर जेल सजाय भोगेका थिए। त्यसैगरी, प्रहरी वृत्त स्वयम्भू र तत्कालीन प्रहरी परिसर हनुमानढोकाको हिरासतबाट उनलाई छुटाएको यमबहादुरका बुबाले प्रहरीलाई बताएका छन्।