काठमाडौं। कैलालीको घोडाघोडी नगरपालिका-८ जडैमा एक युवाको हत्या भएको छ। घटना शुक्रबार रातिको हो।
कैलालीका प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार राति ११:४५ मा २८ वर्षीय केशरसिंह बुढाको हत्या भएको हो। हत्यामा संलग्न दुई जना व्यक्ति १८ वर्षीय पारस भनिने बलबहादुर विक र १९ वर्षीय गगन भनिने गंगा बुढाक्षेत्रीले प्रहरीमा आत्मसमपर्ण गरेका छन्।
चन्दका अनुसार विक र बुढाक्षेत्रीले हँसियाले बुढाको टाउको रेटेर हत्या गरेका हुन्। हत्यापछि उनीहरू दुबै जना हँसिया र टाउको बोकेर अस्थायी प्रहरी पोस्ट प्रतिखेलमा पुगेका थिए।
उनीहरूबीच मदिरा सेवनका क्रममा वादविवाद भएको प्रहरी उपरीक्षक चन्दले बताए। “एउटै होटलमा बसेर मदिरा सेवनको क्रममा वादविवाद बढेको र विवादकै क्रममा दुई जना मिलेर एक जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,” चन्दले भने।
मृतकको लाशलाई पोस्टमार्टमको लागि कैलाली अस्पताल लगिएको छ। पोस्टमा पुगेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।