गाजापट्टी। गाजा युद्धविराम सम्झौताको कार्यान्वयनका रूपमा रेडक्रसको सवारी साधन सोमबार गाजा पट्टीतर्फ प्रस्थान गरेको छ। यसले हमासले रिहा गर्न लागेको इजरायली बन्धकहरूको पहिलो समूह लिन लागेको इजरायली सेनाले पुष्टि गरेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इजिप्टको भ्रमणका लागि प्रस्थान गरेका छन्। उनले आफ्ना इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीसँग मिलेर शार्म अल–शेखमा आयोजना हुने गाजा शान्ति शिखर सम्मेलनको सह–अध्यक्षता गर्नेछन्।
गाजा शान्ति सम्झौताअनुसार दुवै पक्षले सन् २०२३ अक्टोबर ७ का घटनापछि एकअर्काको नियन्त्रणमा रहेका कैदी र बन्धकहरूको साटासाट गर्ने सहमति जनाएका छन्। युद्धविरामको प्रारम्भिक चरणमा इजरायलले नियन्त्रणमा राखेका २५० प्यालेस्टिनी कैदी र गाजामा रहेका एक हजार ७०० कैदीको सट्टामा ४७ जना इजरायली बन्धकहरू—जसमध्ये केही मृत र केही जीवित छन्—रिहा गरिने भएको छ।
हमासले सन् २०१४ को अघिल्लो गाजा युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ। हमासको सशस्त्र शाखाले सोमबार जीवित बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको पुष्टि गर्दै २० जनाको नामावली सार्वजनिक गरेको छ। त्यसको केही समयपछि इजरायली सेनाले रेडक्रसले ती बन्धकहरू लिन गइरहेको जानकारी दिएको हो।
इजरायली सेनाको विज्ञप्तिअनुसार बन्धकहरूको हस्तान्तरण उत्तरी गाजाको निर्दिष्ट विन्दुमा हुनेछ । त्यहाँ धेरै बन्धकलाई एकैसाथ रेडक्रसलाई हस्तान्तरण गरिनेछ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका प्रवक्ताले भने, “हाम्रा सबै २० जना जीवित बन्धक सोमबार बिहान रेडक्रसमार्फत रिहा हुने अपेक्षा गरिएको छ । उनीहरू सीमापार इजरायलमा सुरक्षित पुगेको पुष्टि भएपछि मात्र इजरायलले आफ्ना कैदीहरूलाई मुक्त गर्नेछ।”
तर इजरायली पक्षले सबै मृत बन्धकहरूको अवशेष सोमबारमै फिर्ता हुने अपेक्षा गरेको छैन। यसैबीच, इजिप्टको शार्म अल–शेखमा अमेरिकी राष्ट्रपति ट्रम्प र इजिप्टका राष्ट्रपति सिसीको सह–अध्यक्षतामा २० भन्दा बढी विश्व नेताहरू सहभागी हुने गाजा शान्ति शिखर सम्मेलन सोमबार नै सुरु हुँदैछ।
इजिप्टका राष्ट्रपतिको कार्यालयका अनुसार यस सम्मेलनको उद्देश्य ‘गाजा पट्टीमा युद्धको स्थायी अन्त्य, मध्यपूर्वमा शान्ति र स्थिरता स्थापना र क्षेत्रीय सुरक्षाको नयाँ युगको सुरुवात गर्नु’ हो।
इजिप्टको विदेश मन्त्रालयले यस ऐतिहासिक भनिएको शिखर सम्मेलनमा ‘गाजा युद्ध अन्त्य गर्ने दस्तावेज’ मा हस्ताक्षर हुने अपेक्षा व्यक्त गरेको छ। एक कूटनीतिक स्रोतका अनुसार अमेरिका, इजिप्ट, कतार र सम्भवतः टर्कीले ग्यारेन्टी दस्तावेजमा हस्ताक्षर गर्नेछन्।
तर युद्धरत दुवै पक्ष—इजरायल र हमास—प्रत्यक्ष रूपमा शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्। नेतान्याहुको कार्यालयले कुनै पनि इजरायली अधिकारी सहभागी नहुने स्पष्ट पारेको छ भने हमासले पनि प्रतिनिधि नपठाउने घोषणा गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, जोर्डनका राजा अब्दुल्लाह द्वितीय, बेलायती प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।
इजिप्टका अनुसार सम्मेलनमा २१ राष्ट्रका प्रतिनिधिहरू, युरोपेली सङ्घ (इयु), अरब लिग, संयुक्त अरब इमिरेट्स, ओमान, पाकिस्तान, इन्डोनेसिया, भारत र जर्मनीका अधिकारीहरू पनि सहभागी हुनेछन्।
इरानले आमन्त्रण प्राप्त भएको पुष्टि गर्दै पनि आफ्ना राष्ट्रपति मसुद पेजेस्कियान वा विदेशमन्त्री अब्बास अराघची उपस्थित नहुने जनाएको छ।
हमासको वार्ता समितिसँग नजिकको स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार समूहले युद्धपछिको गाजा प्रशासनमा भाग नलिने निर्णय गरेको छ। स्रोतका अनुसार, हमासले ‘गाजा पट्टीको नियन्त्रण त्यागेको’ भए पनि ‘प्यालेस्टिनी राजनीतिक संरचनाको एक आधारभूत अंश बनेर रहिरहने’ स्पष्ट गरेको छ।
हमास दीर्घकालीन युद्धविराममा सहमत भएको र गाजामा इजरायली आक्रमण नभएसम्म आफ्नो हतियार प्रयोग नगर्ने बताइएको छ। तर समूहका एक वरिष्ठ अधिकारीले यसअघि एएफपीसँग कुरा गर्दै ‘हमासको पूर्ण निःशस्त्रीकरण प्रश्नबाहिरको कुरा’ भएको बताएका थिए।
यसबीच, गाजाका लागि मानवतावादी सहायता पनि तीव्र रूपमा जारी छ। आइतबार केरेम सालोम क्रसिङमार्फत छ वटा डिजेल इन्धन ट्रक र पाँच वटा खाना पकाउने ग्यास बोकेका ट्रकसहित २०० भन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेका छन्।
बन्दुक शान्त भएपछि लाखौँ प्यालेस्टिनी शनिबारदेखि ध्वस्त भएको गाजा सहरमा फर्किरहेका छन्। हमासको नियन्त्रणमा रहेको गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार साँझसम्म करिब पाँच लाख मानिस आफ्ना घर फर्किएका छन्।