काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

हराएका थिए एक हजार दुई सय ७६, फिर्ता आए पाँच सय मात्रै

२७ आश्विन २०८२
जेन-जी आन्दोलनका क्रममा २४ भदौमा सुरक्षाकर्मीबाट लुटिएको हतियार। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार खोज्न प्रहरीले ‘सर्च अपरेसन’ चलाउने भएको छ। २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा देशभरिबाट एक हजार दुई सय ७६ थान राइफल र पेस्तोल लुटपाट भएको प्रहरी प्रधान कार्यालयको भनाइ छ।

ती हतियार फिर्ता गर्न गृह मन्त्रालयले ९ असोजमा सूचना जारी गर्दै असोज मसान्तसम्मको अल्टिमेटम दिएको थियो। गृहले सूचना जारी गरेको दुई साता बित्दा पाँच सय हतियार मात्रै फिर्ता भएका छन्। अन्य ६ सय थान हतियार अझै फिर्ता भएका छैनन्। ती हतियार असोज मसान्तसम्म फिर्ता हुने सम्भावना कम देखेपछि गृह मन्त्रालयले ‘सर्च अपरेसन’ कडाइका साथ चलाउन प्रहरीलाई निर्देशन दिएको छ।

“आधाभन्दा बढी हतियार फिर्ता नभएकोले कडाइका साथ सर्च अपरेसन चलाउनुपर्ने परिस्थिति आएको छ,” गृह प्रवक्ता आनन्द काफ्ले भन्छन्, “यसबारे आवश्यक निर्देशन प्रहरीलाई दिइसकिएको छ।”

प्रहरी प्रधान कार्यालयका अनुसार हतियार खोजीको ‘सर्च अपरेसन’ अहिले पनि जारी छ। गृहको निर्णयअनुसार फिर्ता नभए कडाइ साथ विशेष खालको अपरेसन चलाइने छ। “अपरेसन अहिले जारी नै छ, कतिले आफैँ ल्याएर बुझाएका छन्, नगन्य मात्रामा मात्रै बरामद भएका छन्,” प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने।

असोज मसान्तसम्म हतियार बुझाउन ल्याए वा त्यसको जानकारी दिए त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको थियो। सो मितिपछि कोही कसैसँग ‍लुटिएका हतियार फेला परे कानुनबमोजिम कारबाही हुने गृहले चेतावनी दिएको थियो।

मुलुकी अपराध संहिता २०७४ अनुसार इजाजतप्राप्त हतियार व्यक्तिले बोक्न पाउँछन्। इजाजत नवीकरण नभएको अवस्थामा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ।

इजाजतबिना हतियार बोकेका व्यक्तिलाई हातहतियार तथा खरखजना कसुर आकर्षित गरी प्रहरीले कारबाही अगाडि बढाउन सक्छ। उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। प्रहरीले चोरी तथा लुटपाट कसुर आकर्षित गरेर पनि कारबाही गर्न सक्छ।

जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालय जलाउँदा आन्दोलनकारीले एसएलआर, थ्रीनटथ्री, इन्सास, ग्यास गन र पेस्तोल लुटेका थिए। यस्तै, ९८ हजार चार सय ९१ थान गोली लुटिएको प्रहरीको भनाइ छ।

हतियार फिर्ता नहुँदा समाजमा त्रास बढेको छ भने चुनावको तयारीलाई ती हतियार चुनौती हुने गृह मन्त्रालयको विश्लेषण छ। सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेको छ। प्रहरीबाट लुटिएका हतियारका कारण चुनावी वातावरण बिथोलिन सक्ने आकलन गृहको छ।