काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
अ+
अ-

पाटन। ललितपुरमा १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ।

प्रदर्शनीको उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

“पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मिहिनेतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ,” उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बिउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए।

पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखे। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० स्टल छन्। प्रदर्शनीमा ४० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए।