काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनेरेसन जेड (जेनजी) आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिँदै त्यसले माओवादीले विगतदेखि उठाउँदै आएका एजेन्डासँग मेल खाने बताएका छन्।

चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलन, सरकारको लापरबाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन र वामपन्थी एकतालगायत विषयमा धारणा सार्वजनिक गरे। कार्यक्रमअघि उनले देवघाटसम्म बिहानको ‘मर्निङ वाक’ पनि गरेका थिए।

उनले भने, “युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। माओवादीले सुरुदेखि उठाएको भ्रष्टाचारविरोधी अभियान अहिले जेनजीको स्वरमा प्रतिध्वनित हुनु गौरवको विषय हो।”

प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनका क्रममा देखिएको “गम्भीर सुरक्षा लापरबाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री र सरकार प्रमुखको भूमिकाको आलोचना गरे।

वाम एकताको सन्दर्भमा उनले लामो समयदेखि भइरहेको छलफल अब निष्कर्षमा पुग्न लागेको जनाउँदै भने, “समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुनेछ। त्यो घोषणा केही दिनभित्र हुनेछ। हाम्रो दीर्घ लक्ष्य भनेको एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउनु हो।”

आगामी निर्वाचनबारे प्रचण्डले माओवादी केन्द्रको जनसमर्थन बढ्दो क्रममा रहेको दाबी गर्दै भने, “देशभित्र र बाहिरका विश्लेषकहरूले तीन प्रमुख पार्टीमध्ये माओवादी केन्द्र पहिलो स्थानमा आउन सक्ने आँकलन गरेका छन्।”