३१ आश्विन २०८२
अ+
अ-

काठमाडौं। एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा माइकल फोले नियुक्त भएका छन्। १५ कार्तिक बाट लागू हुने गरी उनलाई एनसेलको सीइओमा नियुक्त गरिएको हो।

नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत ९सीएफओ०को भूमिकालाई निरन्तरता दिनेछन्।

फोलेले दुई दशकभन्दा बढी समय दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव हासिल गरेका छन्।  एनसेलमा आवद्ध हुनु अघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालनको जिम्मेवारी वहन गरेका थिए।

त्यसअघि, उनले टेलिनोर पाकिस्तान (टीपी)का सीईओका रूपमा काम गरेका थिए। त्यसबेला, कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै उल्लेखनीय सफलता हासिल गरेका थिए।

उनले बंगलादेशमा ग्रामीणफोन र बुल्गेरियामा टेलिनोरको सीईओ भएर काम गरेका थिए। त्यहाँ काम गर्दा उनले ग्राहक संख्या सात करोडभन्दा माथि पुऱ्याएका थिए।

फोलेले पाकिस्तानको टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन्।

उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत थिए।

एनसेलको सीइओमा नियुक्त भएपछि फोलेले भने, “काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु। एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ।”

आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र नभइ समाजको डिजिटल संरचना बुन्ने भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

नियुक्ति बारे एनसेलको सञ्चालक समितिले भनेको छ, “फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं। उनको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्वपूर्ण हुनेछन्।”

फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन्। इनसीडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन्। उनी क्यानडा र केन्या दुबैको नागरिक हुन्।