साहित्यतर्फको नोबेल पुरस्कार विजेता लास्लो क्रास्नाहोर्काई, जसको लेखनमा हुँदैन पूर्णविराम
सोभियत संघको दबदबाको समयमा सैन्य समूह नेटोका गतिविधिलाई निस्तेज पार्न वार्स नामको सामरिक समूह क्रियाशील थियो। उसकै छत्रछायामा अन्य युरोपेली देशझैँ हंगेरी पनि वार्सको एक सदस्य थियो। सन् २००२ मा हंगेरीका इम्रे केर्तेजले साहित्यतर्फको नोबेल पाएपछि यो देश विश्वसाहित्यको बहसमा झुल्कियो। दुई दशकपछि इतिहास दोहोरिएको छ– हंगेरीका आख्यानकार लास्लो क्रास्नाहोर्काईलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेसँगै।
साहित्यको विश्व मानचित्रमा हंगेरी यतिखेर सगर्व उभिएको छ। यिनै लास्लोलाई विश्वका पाठकमाझ व्यापक परिचय भने अन्तर्राष्ट्रिय बुकर पुरस्कारले दिलायो, एक दशकअघि। तिनैताका उनका केही कथा र उनीबारेका निबन्ध पढ्ने मौका मिलेको हो। यतिखेर डिजिटल माध्यमहरूमा उनका किताबका समीक्षा र अन्तर्वार्ता प्रशस्त भेटिन्छन्।
अनुवादकबारे पनि उनको अलग धारणा छ– अनुवादले मूलकृतिलाई न्याय नगर्न पनि सक्छ। बरु भाषान्तरका क्रममा अनुवादकले आफैँ नयाँ सिर्जना उभ्याइसकेको हुनसक्छ।
लास्लोका फुटकर लेखका पाठकलाई ज्ञात भइसक्यो–उनका उपन्यासमा एउटै वाक्यको अनुच्छेद पूर्णविराम नदिई कैयौँ पृष्ठसम्म तन्किन्छ। छोटा वाक्य त कृत्रिम लाग्छन् उनलाई। किन त? उनी तर्क गर्छन्, ‘म बोलीचालीको भाषा पछ्याउन चाहन्छु, जसरी बोल्ने क्रममा हामी धाराप्रवाह प्रस्तुत हुन्छौँ। अझ अरूलाई आफ्ना कुरामा सहमत गराउन खोज्दा त निरन्तर र एकोहोरो अभिव्यक्त हुन्छौँ। त्यहाँ पूर्णविराम हुँदैन, बरु सास फेरेको एउटा लयात्मक आवाज मात्र सुनिन्छ।’
उनको आख्यान पढिरहँदा यस्तो लाग्छ कि त्यो लास्लोकै आत्मालाप हो, अविच्छिन्न मनोवाद। यति भनिरहँदा सम्झनामा आइरहेछन्– टमस बर्नहार्ड, डब्लू. जी. सेवल्ड, होजे सारामागो, जाभियर मारियास, जेम्स जोय, जो आफ्ना लामा वाक्यका कारण वाङ्मयमा अलग बान्की बनाउन सफल रहे। यिनैमध्ये केही लास्लोका पनि प्रेरणाका स्रोत बनेका छन्।
सानैदेखि संगीतप्रति रुचि थियो लास्लोको। सांगीतिक समूहमा आबद्ध भए, कन्सर्टहरूमा गाए पनि। तर, किताबप्रतिको मोह छुटेन। फ्रान्ज काफ्का उनका अतिप्रिय लेखक। काफ्का कानुनका विद्यार्थी थिए। यही कारण लास्लो पनि आफ्ना प्रिय लेखकजस्तै कानुनको विद्यार्थी बने, तर बीचमै छाडे। संगीत पनि पेसा बन्न सकेन। अनि लेखनतर्फ लहसिए।
मेलान्कोली अर्थात् ध्यानस्थ उदासी– यो शब्दसँग लास्लोको गहिरो रुचि छ। उनको उपन्यास वार एन्ड वार (सन् १९९९) मा मेलान्कोली धेरै प्रयोग भएको छ। यो शब्दप्रति किन यति आसक्ति? उनको जवाफ छ– बौद्धिक जीवनको सामान्य अवस्था हो मेलान्कोली जसमा बुद्धि र धैर्यका माध्यमबाट शान्ति छाउँछ। मेलान्कोली यस्तो अवस्था हो जसबाट कुनै आशाविना पनि कतै मजाले अडिन सकिन्छ, अस्तित्वमा रहिरहन सकिन्छ। सांसारिक यथास्थितिविरुद्धको गतिविधि पनि मेलान्कोली नै हो। अतः यो एउटा अन्तिम प्रतिकार हो।’
लामा वाक्यको भाषिक प्रयोगका कारण मात्र होइन, यात्राका कारण पनि लास्लोको चर्चा हुने गर्छ। लेख्नुअघि उनी सक्दो यात्रा गर्छन्।
यही मेलान्कोलीलाई केन्द्रमा राखेर तत्कालीन सोभियत संघसमर्थित हंगेरी सरकारको प्रतिरोधमा उनले उपन्यास नै लेखे– द मेलान्कोली अफ रेजिस्टेन्स (१९८९)। ‘तर, संसारमा अति धेरै मेलान्कोलिक हुनु समाजका लागि घातक हुनसक्छ,’ उनी हाँस्दै भन्छन्।
लास्लो सामाजिक नियमिततामा आफू रम्न नसकेकैले लेखनकर्ममा लागेको बताउँछन्। उनलाई वर्तमानमा व्याप्त तिक्तताबाटै लेखनको ऊर्जा मिल्छ। अन्धकार तथा भयावह परिवेशलाई मोहक वर्णन गर्न खप्पिस छन् उनी। कथावाचनमा रहस्यलाई चलाखीपूर्ण प्रयोग गर्छन् र पाठकमनमा कौतूहल जगाइराख्न प्रयत्न गर्छन्। महत्त्वहीन, दिक्कलाग्दो परिस्थितिमा पनि उनी केही रहस्योद्घाटन हुने लोभमा पाठकलाई अल्झाइराख्छन्। बोझिलो वर्णनबाट पाठकलाई अवतरण गराउन ‘डार्क ह्युमर’ को बाक्लो प्रयोग गर्छन्।

लास्लोका किताबको संग्रह। तस्बिर : माउरो जेभियर कार्डिनस
पहिलो उपन्यास सटानट्यांगो (१९८५) देखि नै प्रलय वा एपोक्लिप्स लास्लोका सिर्जनामा दोहोरिरहने शब्द हुन्। ‘प्रलयकारी सन्त्रासमाझ उनका बलवान् र दुरदर्शी कृतिहरूले कलाको शक्तिलाई पुनःपुष्टि गरेकाले लास्लोलाई पुरस्कृत गरिएको हो,’ लास्लोलाई नै यस वर्षको नोबेल पुरस्कारका लागि छान्नुको कारणबारे नोबेल समितिले भनेको छ।
हुन पनि गत दुई वर्षदेखि प्यालेस्टाइनीविरुद्ध इजरायली आक्रमण कुनै प्रलयभन्दा कम छैन। बालबालिकासमेतको बर्बर हत्या गरेर इजरायल सरकारले प्यालेस्टाइनीको अस्तित्व नै मेटाउन खोजिरहेको छ। बचेखुचेकाहरूलाई पनि खाद्यान्य आपूर्ति रोकेर भोकभोकै मर्न बाध्य गराउने यो रणनीति एपोक्लिप्स नजिक छैन र? यसैले पनि लास्लोका प्रलयकारी चित्रणको सान्दर्भिकता उत्तिकै छ। छिमेकी देश भएकाले लास्लोले युक्रेनका प्रलयकारी घटना पनि देखिरहेकै छन्। अर्का अन्तर्राष्ट्रिय बुकर विजेता बुल्गेरियाली लेखक गियोर्गी गुस्पोदिनोपजस्तै लास्लो पनि युक्रेनी जनताप्रतिको दमनमा समभाव राख्छन्। हुनसक्छ, यस्तै विनाश र तहसनहसले लास्लोलाई आख्यानमा प्रलयकारी परिघटनासँग जोड्छ। ‘लास्लो त समकालीन हंगेरियाली लेखकहरूमा प्रलयका गुरु नै हुन्,’ अमेरिकी लेखक सुसन सोन्टाग भन्ने गर्थिन्।
हंगेरीकै सिनेकर्मी बेला टार लास्लोका घनिष्ठ मित्र हुन्। टारले उनका केही उपन्यासमा सिनेमा पनि बनाएका छन्। लास्लोले आफ्नै उपन्यासमा बनेका सिनेमाको पटकथा लेखनमा समेत निर्देशक टारलाई सघाएका छन्। त्यसैले त सटानट्यांगो, द मेलान्कोली अफ रेजिस्टेन्स, वार एन्ड वार उपन्यासको आंशिक आस्वादन दर्शकले गरिसकेका छन्। सिनेमा कलाको बिल्कुलै अलग माध्यम हो, त्यसैले किताबको विषयमा सिनेमा बनाइँदा न्याय भयो/भएन भनेर रोइलो गर्नुपर्ने केही देख्दैनन् लास्लो। अनुवादकबारे पनि उनको अलग धारणा छ– अनुवादले मूलकृतिलाई न्याय नगर्न पनि सक्छ। बरु भाषान्तरका क्रममा अनुवादकले आफैँ नयाँ सिर्जना उभ्याइसकेको हुनसक्छ।
लास्लोका उपन्यास मात्र होइन, कथाहरूमा समेत फनफनी बेरिएको कथानक हुने गर्छ। १७ विभिन्न कथासहितको उनको उपन्यास छ– सेइबो देयर विलो। कथामा कुनै औपन्यासिक पात्र छन् त कुनै ऐतिहासिक। द प्रिजर्भेसन अफ अ बुद्ध लगायत उल्लेख्य केही कथाको रचनाका भावभूमि जापान र चीन हुन्। यी कथाहरूमा मिहिन स्थानिक परिवेश घोलिएको छ।
त्यसैले लामा वाक्यको भाषिक प्रयोगका कारण मात्र होइन, यात्राका कारण पनि लास्लोको चर्चा हुने गर्छ। लेख्नुअघि उनी सक्दो यात्रा गर्छन्। वार एन्ड वार लेख्नुअघि उनी धेरै युरोपेली देश पुगेर दोस्रो विश्वयुद्धका असर तथा यहुदीहरूको निर्मम हत्याका घटनालाई पीडितजनबाटै सुनेबुझे। लेख्न बस्नुअघि नै उनको मस्तिष्कमा खाका मात्र होइन, शैली, विषय र सन्दर्भसमेत तयार भइसकेको हुन्छ। त्यही भएर जेलिएर आउने एकपछि अर्को वाक्यांशले कैयौँ पाना भरिँदै जान्छन्। उनलाई पूर्णविरामविना लेख तन्काइरहेको लाग्दैन। बरु लामो यात्रापछिको विश्रामझैँ पूर्णविरामको प्रयोग सही ठाउँमा भएजस्तो लाग्छ।
गुलजारले भनेझैँ राम्रो पुस्तक र राम्रो मान्छे चाँडै बुझिँदैन। उनीहरूलाई पढ्नुपर्छ।
जस्तो कि, वार एन्ड वार कोरिनको यात्रा कथा हो। उदास ऊ हंगेरीको एउटा सानो सहरको अभिलेखालयमा काम गर्छ र बारम्बार आत्महत्याबारे सोचिबस्छ। एकदिन उसले युद्धबाट फर्किएका चारजना साथीको कथा वर्णित दुर्लभ पाण्डुलिपि भेट्छ। यस पाण्डुलिपिलाई उतारेर इन्टरनेटमा हाल्ने र सदाका लागि सुरक्षित राख्ने ध्येयले उसले अमेरिका जाने निधो गर्छ। तर, युद्धको समयमा हंगेरीको सहर छिचोल्न सहज हुँदैन। ऊ बल्लतल्ल अमेरिका पुग्छ। हंगेरीकै दोभासेको आवासमा बस्छ र उसकै सहयोगले निर्धारित काम सक्छ। कला र ज्ञानको आधिकारिकताको खोजीमा ऊ फेरि स्विट्जरल्यान्ड पुग्छ। त्यसपछि अरू धेरै कुराको रहस्योद्घाटन हुन्छ।
कोरिन उपन्यासभर स्वतन्त्रताको खोजी गर्छ। तर, युद्धको निरन्तरतामा सबै भताभुंग भएको बखत व्यक्तिको स्वतन्त्रताको कुनै मूल्य रहँदैन। अन्ततः कोरिन स्विकार्छ, ‘न त उसको इतिहास छ, न सम्मान नै।’ हंगेरीको दुरवस्थाबाट ऊ व्यथित छ र भन्छ, ‘हंगेरियालीहरू हराइसके। मात्र हंगेरी देश कायम छ, हंगेरियालीहरू छैनन्।’
लास्लो छिरलिएको कोरिनको कहानीबाट युद्धले छियाछिया भएको तत्कालीन युरोपको भग्न चित्र उभ्याउँछन्।

लास्लो क्रास्नाहोर्काई। तस्बिर : ग्युला जिम्बाल
युरोपेली समाजका भयावह उतारचढाव र विध्वंसबाट लियो टोल्सटोयले वार एन्ड पिस लेखेका थिए। लास्लो पनि वार एन्ड पिस (१८६७)कै छेउ उभिएर एउटा विदारक विश्वको याद दिलाउने प्रयास गर्छन्। उनी वर्तमान युरोप र अझ समस्त विश्वमा शान्तिको घडी क्षणिक भएको बोध गर्छन्। युद्धपछि शान्ति होइन, अन्त्यहीन युद्धकै छाया देख्छन्। लाग्छ, वार एन्ड वार वर्तमान विश्वको एउटा विध्वंसको गाथा (डिस्टोपिया) हो।
धेरै पानासम्म तन्किरहने वर्णन, कला, संगीत र राजनीतिका शताब्दीऔँअघिका घटना, हरेक वाक्यांशमा नयाँ प्लट वा सन्दर्भतिर मोडिने कथानक आदिले लास्लोलाई पढ्न र बुझ्न भने निकै मिहिनेत गर्नुपर्छ। तर, यही बहानामा उनलाई नपढ्ने छुट छैन।
गुलजारले भनेझैँ राम्रो पुस्तक र राम्रो मान्छे चाँडै बुझिँदैन। उनीहरूलाई पढ्नुपर्छ।