काठमाडौँ। जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि सञ्चालनमा आउन नसकेको पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटेल (हायात रिजेन्सी) अनिश्चितकालका लागि बन्द भएको छ।
गत भदौ २४ गते तोडफोड भएको होटेल सञ्चालनमा आउन सकेको थिएन। होटेलको ७० वटा कोठा र लबी पूर्ण रुपमा क्षति पुगेकाले आवश्यक मर्मत गरेर सञ्चालनमा ल्याउन समय लाग्ने भएकोले बन्द गरिएको हायात रिजेन्सी होटेलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनद्वारा जारी सूचनामा छ।
तोडफोड र आगजनीबाट होटेलका संरचना, उपकरण र सुरक्षासम्बन्धी संयन्त्रमा ठूलो क्षति पुगेको भन्दै सम्पूर्ण व्यावसायिक सेवा स्थगित गरेको हो। सूचनामा अर्को निर्देशन जारी नहुन्जेलसम्म होटेलमा कार्यरत श्रमिकहरूलाई कार्यस्थलमा उपस्थित नहुन अनुरोध पनि गरिएको छ।
होटेल व्यवस्थापनले ट्रेड युनियनसँग छलफल गरी श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिने निर्णय गरेको जनाएको छ। मर्मत तथा पुनर्निर्माण कार्य पूरा भएपछि मात्रै होटेल पुनः सञ्चालनमा ल्याइने होटेलको भनाइ छ।
सन् २००० देखि अर्थात् २५ वर्षदेखि सञ्चालनमा रहेको हायात रिजेन्सी काठमाडौँ देशकै प्रतिष्ठित पाँचतारे होटेलमध्ये एक हो। नेपाली कला, वास्तुकला र सांस्कृतिक सौन्दर्य झल्किने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यो होटेलमा ३०३ कोठा छन्। देशी-विदेशी पर्यटक, सरकारी पाहुना र अन्तर्राष्ट्रिय सम्मेलनका लागि यो होटेल लामो समयदेखि प्रमुख गन्तव्य बन्दै आएको थियो।
होटेलमा करिब ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। आव ०७९/८० मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने होटेलका रूपमा आन्तरिक राजस्व विभागले हायात रिजेन्सीलाई सम्मान गरेको थियो।
देशी-विदेशी पर्यटक, सरकारी पाहुना र अन्तर्राष्ट्रिय सम्मेलनका लागि यो होटेल लामो समयदेखि प्रमुख गन्तव्य बन्दै आएको थियो।
यसअघि पनि आव ०७१/७२, ०७३/७४, ०७४/७५, ०७५/७६ र ०७६/७७ मा हायात रिजेन्सीले पर्यटन क्षेत्रको उत्कृष्ट करदाता पुरस्कार पाइसकेको छ। सरकारले पनि यसलाई विदेशी मुद्रा संकलनमा उच्च योगदान पुर्याएको भन्दै २०७६ सालमा विशेष सम्मान गरेको थियो। होटेलले मजदुरको विषयमा कानुनअनुसार सेवा-सुविधा दिने तयारी गरेको पनि जनाएको छ।
यो पनि…