काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ कार्तिक २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटेल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ।

होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा आतबार जारी विज्ञप्तिमा होटेलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटेलले आभार व्यक्त गरेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटेलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान-प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरेको हो।

“आन्दोलनका क्रममा होटेलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटेलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटेलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटेल पूर्ण रुपमा बन्द छ,” होटेलले भनेको छ, “हाल क्षतिको पूर्ण मूल्याङ्कनपछि होटेल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं।” स्तारोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटेलको भनाइ छ।

होटेलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागसिप होटेलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान-प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धतासमेत जनाएको छ।

“होटेल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ। यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्तिप्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारीजस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामाना गर्दै वर्षौंदेखि हजारौँ व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउदैँ आएका छौं,” होटेलले भनेको छ।

होटेल पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै पटक-पटक सरकारबाट सम्मानित भइसकेको छ। होटेल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सातपटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटेलका रुपमा दुईपटक सम्मानित भइसकेको छ।